अदालतले आवेगमा प्रधानमन्त्रीलाई हटाउने र नियुक्ति गर्ने गरेको ओलीको आरोप

काठमाडौं । राष्ट्रिय सूचना दिवसको अवसरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अदालतले आवेगमा आएर प्रधानमन्त्रीलाई बर्खास्त र नियुक्त गर्ने गरेको टिप्पणी गरेका छन्। उनले प्रधानमन्त्रीको चयन संसदले गर्ने भए पनि अदालतले ‘झोक चलेका बेला’ यस्ता निर्णय गर्ने गरेको आफ्नो ‘ताजा अनुभव’ रहेको बताए।

ओलीले भने, “प्रधानमन्त्री संसदबाट चुनिन्छ। कहिलेकाहीँ अदालतलाई झोक चल्दाबाहेक संसदले हटाउँछ। अदालतलाई नै झोक चल्यो भने त कसको के लाग्छ र? अदालतले नै ठोकिदिन्छ, प्रधानमन्त्री बर्खास्ती गरिदिएँ।”

उनले अदालत संविधानको व्याख्याता भएकाले यस्तो ‘अनुचित व्याख्या’ गर्ने गरेको आरोप लगाए। “कहिलेकाहीँ त फलानोलाई नियुक्ति गरिदिएको छु भनेर पनि ठोकिदिँदो रहेछ,” उनले भने। उनले आफ्नो सरकारमाथि भएको फैसलालाई संकेत गर्दै यस्ता निर्णय संसदीय प्रक्रिया बाहिरबाट हुने गरेको बताए।

ओलीले आफूहरू पूर्ण लोकतन्त्रबाट परिपूर्ण लोकतन्त्रतर्फ अघि बढिरहेको पनि दाबी गरे।




Leave a Reply

Your email address will not be published. Required fields are marked *