साउन सकिन लाग्यो, रोपाइँ ९१ प्रतिशतमात्रै

काठमाडौं । यस वर्ष साउन अन्तिम सातासम्म मुलुकभर औसत ९१ प्रतिशत धान रोपाइँ भएको छ। साउन सकिनै लाग्दा पनि अझै ९ प्रतिशत क्षेत्रमा वर्षे धान रोप्न बाँकी छ।

जबकी गत वर्षको सोही अवधिमा भने कुल क्षेत्रफलको ९८.१९ प्रतिशत रोपाइँ भइसकेको थियो। यसअनुरूप गत वर्षको भन्दा यसपटक ७.१७ प्रतिशतले कम धान रोपाइँ भएको छ। वास्तवमा सिँचाइको अभावले प्रायः नेपालका किसान आाकाशे पानीको भर पर्नुपर्ने स्थितीले समयमा बाली लगाउन नसकेको हो। यो अवस्था बर्सेनि दोहोरिँदै आएको छ। देशभर खेती भइरहेको जमिन २५ लाख २५ हजार हेक्टर छ।

बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रबाट प्रदेशसँगको समन्वयमा तयार गरिएको विभिन्न प्रदेशको तथ्यांकअनुसार यसवर्ष १३ लाख ७८ हजार ९६६ हेक्टर क्षेत्रफल जमिनमा वर्षे धान लगाउन योग्य छ। यसैलाई आधारमान्दा साउन २५ गतेसम्ममा कुल जमिनमध्ये १२ लाख ५४ हजार ८८६ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भइसकेको केन्द्रले जानकारी दिएको छ। तर यसबाहेकको १ लाख २४ हजार ८० हेक्टर क्षेत्रफलमा अझै धान लगाउन बाँकी छ। यसअनुरुप हालसम्म कुल क्षेत्रफको ९१ प्रतिशत मात्रै वर्षे धान रोपाइँ भएको हो।

यद्यपि साउन पहिलो साता मधेस प्रदेशमा पानी नपर्दा भएको धानको बेर्ना पनि सुक्ने अझ खाने पानीको समेत अभावको स्थिति आएको थियो। हुनतः यसवर्ष मनसुन छिटो सुरु भए पनि प्रक्षेपण गरेजति पानी समयमा नपरेकोले किसानलाई रोपाइँमा समस्या परेको बाली विज्ञ डा. टिका कार्की बताउँछन्। यसकारण मधेस वर्षाको मध्य अवधि अर्थात् साउन पहिलो हप्तामा खडेरीका कारण कुल क्षेत्रफलको आधा पनि रोपाइँ हुन सकेको थिएन। तर अहिले ७६.५४ प्रतिशत धान रोपाइँ भइसकेको छ। तर, अझै मधेसको साढे २३ प्रतिशत भु–भागमा धान रोप्न बाँकी छ। जबकी गत वर्षको साउन पहिलो साता सो प्रदेशको धान लगाउने कुल क्षेत्रफलको ९७ प्रतिशत रोपाइँ भइसकेको थियो।

अन्य प्रदेशको तुलनामा यसपटक यो प्रदेशमा सबैभन्दा कम रोपाइँ भएको देखिन्छ। मधेस प्रदेशमा वर्षे धान हुने कुल क्षेत्रफल ३ लाख ७२ हजार ६४५ हेक्टर छ। यसमध्ये २ लाख ८५ हजार २३४ हेक्टरमा मात्रै रोपाइँ भएको छ।

तर यता प्रदेशअनुसार हालसम्म सबैभन्दा बढि सुदूरपश्चिममा रोपाइँ भएको छ। उक्त प्रदेशमा ९९.७२ प्रतिशत रोपाइँ भइसकेको छ। गत वर्ष सोही अवधिमा शत प्रतिशत रोपाइँ भइसकेको थियो। उक्त प्रदेशमा वर्षे धान हुने कुल क्षेत्रफल १ लाख ७६ हजार १५१ हेक्टर छ। यसमध्ये १ लाख ७५ हजार ६५२ हेक्टरमा रोपाइँ भइसकेको केन्द्रको तथ्यांकमा उल्लेख छ।

यसैगरी, गण्डकी प्रदेशमा वर्षे धान हुने कुल क्षेत्रफल ९४ हजार १८२ हेक्टर मध्ये ९२.७७ प्रतिशतमा रोपाइँ भएको छ। यसअनुरूप ८७ हजार ३७५ हेक्टरमा रोपाइँ भइसकेको छ। गत वर्षको सोही अवधिमा भने कुल क्षेत्रफको ९७ प्रतिशत रोपाइँ भइसकेको थियो। यसपछि बाग्मती प्रदेशमा कुल धान हुने क्षेत्रफल १ लाख १५ हजार ६२१ हेक्टर जमिनमा ९३.५६ प्रतिशत रोपाइँ भइसकेको छ।

यसपछि कोशी प्रदेशमा पनि गत वर्षको भन्दा केही कम रोपाइँ भएको छ। यद्यपी केन्द्रको तथ्यांकअनुसार अहिलेसम्म ९४.४२ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ भएको छ। जबकी गत वर्षको साउन पहिलो साता उक्त प्रदेशको धान ९८ प्रतिशत रोपाइँ भइसकेको थियो। कोशी प्रदेशमा वर्षे धान हुने कुल क्षेत्रफल २ लाख ७६ हजार ३८६ हेक्टर छ। यसमध्ये २ लाख ६० हजार ९६४ हेक्टरमा मात्रै धान रोपाइँ भएको छ।

सुदूरपश्चिम पछिको बढी रोपाइँ कर्णाली र लुम्बिनी प्रदेशमा भएको छ। कर्णालीमा कुल धान हुने कुल क्षेत्रफलको ९८.४ प्रतिशत रोपाइँ भइसक्यो। जहाँ कुल क्षेत्रफल ४१ हजार ४२ हेक्टर छ। यसमध्ये ४० हजार ९४८ हेक्टरमा रोपाइँ भइसकेको छ। यसपछि लुम्बिनी प्रदेशमा वर्षे धान हुने कुल क्षेत्रफल ३ लाख २ हजार ९३९ हेक्टर छ। यसमध्ये २ लाख ९७ हजार १०३ हेक्टरमा रोपाइँ भइसकेको छ। यो कुल क्षेत्रफलको ९८ प्रतिशत हो।

नेपालमा केही हदसम्म धान उत्पादन भएपनि भारतबाट बर्सेनि अर्बौं रुपैयाँको आयात हुने गरेको छ। जबकी मुलुकभर समग्र कृषि बालीको क्षेत्रफलमा धान बालीको क्षेत्रफल सबैभन्दा धेरै अर्थात करिब ३०.२ प्रतिशत छ। तर, धान बालीको उत्पादनको प्रवृत्ति भने विगत १० वर्षको तथ्यांक विश्लेषण गर्दा समग्रमा उत्पादकत्वमा सामान्य वृद्धि भएको देखिन्छ।

आर्थिक वर्ष २०७७/७८ मा १४ लाख ७३ हजार हेक्टर क्षेत्रफलमा लगाएको धानबालीबाट ५६ लाख २२ हजार टन मात्रै धान उत्पादन भयो। सो वर्ष धान बालीको उत्पादकत्व ३.८ प्रतिशतमा सीमित रहयो। यसअवधिमा कुल १४ लाख ७७ हेक्टरमा धार रोपाइँ हुँदा ५१ लाख ३० हजार टन मात्रै उत्पादन भयो। सो आवमा उत्पादकत्व ३.५ प्रतिशतमा सीमित रह्यो। आव २०७९/८०को पुससम्मको तथ्यांकअनुसार १४ लाख ४७ हजार हेक्टरमा लगाएको धानको उत्पादन ५४ लाख ८६ हजार टन उत्पादन भएको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *