बागमतीका मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिँदै

काठमाडौं । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेशसभामा विश्वासको मत लिने भएका छन्।

आज अपराह्न ४ बजे बस्ने प्रदेशसभाको बैठकमा मुख्यमन्त्री बानियाँले विश्वासको मत प्राप्त गर्ने प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलले जानकारी दिए।

नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)का ६४ जना प्रदेशसभा सदस्यको समर्थनमा साउन २० गते मुख्यमन्त्रीमा नियुक्त भएका हुन्। मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिइसक्नुपर्ने व्यवस्था छ।

सोही व्यवस्थाअनुसार मुख्यमन्त्री बानियाँले नेपालको संविधानको धारा १६८ को उपधार ४ तथा प्रदेशसभा नियमवाली २०७४ को नियम १४३ को उपनियम १ बमोजिम प्रदेशसभाबाट विश्वासको मत लिने प्रस्ताव अघि बढाएका हुन्।

यसैबीच सत्तारुढ कांग्रेस र एमालेले मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई विश्वासको मत दिन ह्वीप जारी गरेका छन्। बानियाँ मुख्यमन्त्रीमा बनेसँगै बागमती प्रदेशमा हालसम्म मुख्यमन्त्रीको हुनेको संख्या ६ पुगेको छ।

प्रदेश स्थापनाको पहिलो कार्यकालमा एमालेबाट डोरमणी पौडेल, अष्टलक्ष्मी शाक्य, नेकपा समाजवादीबाट राजेन्द्र पाण्डे मुख्यमन्त्री भएका थिए। यस्तै प्रदेशसभाको दोस्रो कार्यकालमा प्रदेशको चौथो मुख्यमन्त्रीको रुपमा नेकपा माओवादी केन्द्रका शालिकराम जम्कट्टेल र पाँचौ मुख्यमन्त्री नेपाली कांग्रेसका बहादुर सिं लामा भएका थिए।

बागमती प्रदेशसभाको बैठक आजदेखि प्रदेशसभा सचिवालयको नयाँ भवनमा सञ्चालन हुने भएको छ। भवनको सम्पूर्ण काम सम्पन्न भई हस्तान्तरण भइसकेकाले आजबाट नयाँ भवनमा प्रदेशसभाको बैठक सञ्चालन गर्ने तयारी भएको प्रदेशसभा सचिवालयका सचिव पौडेलले जानकारी दिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *