पर्यटन वर्षको उद्घाटनमा अपारदर्शी खर्च गरेपछि सचिव विशाल घिमिरेसँग लिइयो बयान
विराटनगर । कोशी प्रदेशमा पर्यटन वर्षको उद्घाटनमा अपारदर्शी खर्च भएपछि संसदीय समितिले पर्यटन, वन तथा वातावरण सचिव विशाल घिमिरेलाई बोलाएर बयान लिएको छ ।
शुक्रबार कोशी प्रदेशको उद्योग, पर्यटन तथा वातावरण समितिले मन्त्रालयका सचिव घिमिरेको बयान लिएको हो ।
चैत २७ गते पर्यटन वर्षको उद्घटन कार्यक्रममा भएको खर्चको भुक्तानी अपारदर्शी भएको थियो । उद्घाटनका क्रममा रक्सी र मासुपनि खर्च भएको सचिव घिमिरेले स्वीकार गरे । घिमिरले अनुमानभन्दा बढी सहभागी आएपछि खर्च बढेको बताए ।
करिब ३० लाख रुपैयाँको अनुमानित बजेटमध्ये २९ लाख खर्च भए पनि तत्काल भुक्तानी दिन सकिने मात्र भुक्तानी दिइएको उनले बताए ।
आफूले व्यक्तिगतरूपमा २ लाख ७६ हजार रुपैयाँ बैङ्कबाट निकालेर सम्बन्धित होटलहरूलाई भुक्तानी गराएको उनको दाबी छ । यो भुक्तानी भने मदिराको हो ।
‘यसले प्रदेश सरकारलाई थप आर्थिक भार पारेको छैन, यो मेरो व्यक्तिगत खर्च हो’, घिमिरेले समितिमा भने, ‘समस्या कार्यक्रममा भएको व्यवस्थापनको कमजोरी हो, सुशासनमा हानि पुर्याएको छैन ।’
मदिरा र मासुको बिल सरकारले नतिरेको उनले बताए । ‘समस्या कमजोरी चाहिँ व्यवस्थापकीय पक्षमा हो । हामीले यति मान्छेले खाना खानुहुन्छ, हामीसँग यति आउनुहुन्छ भन्ने थियो । त्यसमा पनि ती बिलहरु मैले केलाएर हेरेँ, कतिपयमा मासु, मदिरा, अन्य चिजहरूको बिल पनि थियो,’ उनले भने,‘ आवश्यक पर्छ भने म यो समिति समक्ष देखाइदिन सक्छु ।’
‘त्यो मासु, मदिरा अनि रक्सी राखेका बिलहरु राखेर म मन्त्रालयबाट भुक्तानी गराउन सक्ने अवस्थामा थिइनँ, मन्त्रालयका कर्मचारीले मात्रै गएर त्यो सबै खर्च गरेको होइन,’ उनले भने, ‘हामीले निमन्त्रणा गरेका सहभागी, हाम्रा अतिथि, त्यहाँ आउनुहुने सहभागीहरु सम्पूर्णले गर्नुभएको विषयका लागि त्यसका लागि मैले व्यक्तिगत तिरें ।’
Facebook Comment