केपी ओली बिनाको एमाले असम्भवः ढकाल
धनगढी । नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा जनसंगठन संयन्त्र प्रमुख केपी शर्मा ओली विनाको एमाले कल्पना पनि गर्न नसकिने बताएका छन् ।
प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेश बैठक तथा प्रशिक्षण कार्यक्रमलाई शुक्रबार कञ्चनपुरमा सम्बोधन गर्दै प्रमुख ढकालले एमालेले आफूलाई देशको प्रमुख शक्तिका रुपमा ओलीकै कार्यकालमा स्थापित गरेकाले केहि समयका लागि ओली बिनाको एमालेको कल्पना कसैले नगर्न आग्रह गरे ।
जनताको बहुदलयि जनवाद अनुसार तीनै तहका सरकारलाई लोककल्याणकारी बनाउन र समेद्ध नेपाल सुखी नेपालीको दिर्घकालीन लक्ष्यलाई पुरा गर्न एक पटक ओलीका नेतृत्व एमालेका लागि अपरिहार्य भएको उल्लेख गर्दै ढकालले भने, ‘केपी ओली बिनाको एमाले बनाउँ भन्न पाइन्छ, म बन्छु, ओली भन्दा राम्रो चलाउँछु भन्न पनि पाइन्छ, तर भन्ने कुरा ठाउँमा भन्नु पर्छ, कुठाउँमा भन्नु भएन । दुई कार्यकाल र ७० वर्षको उमेर हदबन्दी ओलीका लागि मात्र गरिएको होइन, सचिवालय, पोलिटब्युरो र केन्द्रीय कमिटीको सोच–बिचारपछि गरिएको निर्णय हो ।’
महाधिवेशनमा प्रतिष्पर्धा गर्न योग्य सबैलाई अधिकार भए पनि पार्टी विधान विपरित हल्ला गर्नु गलत र गैरजिम्मेवार भएको ढकालको टिप्पणी छ ।
कार्यक्रममा पोलिटब्युरो सदस्य निरुदेवी पालले केपी ओली विनाको एमाले, एमाले विनाको नेपाल र समृद्धिको कल्पना असम्भव भएको उल्लेख गरिन् । ‘यो सन्देश र समर्थनमा हरेक एमालेजन तयार छ । केन्द्रीय कमिटीको निर्णय नै विधान र महाधिवेशनको सार हो,’ पालले थपिन् ।
सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष कृष्णप्रसाद जैशीले पार्टी निर्णयलाई सबैले मान्नु पर्नेमा जोड दिँदै भने, “त्यो लेलिनवादी सिद्धान्त र जबजको मूल मर्म भएकाले हल्ला र प्रचारबाजीको पछि लाग्नु नैतिक र सिद्धान्तबिहीन चरित्र भएको टिप्पणी गरे ।
बैठकमा प्रदेशस्तरीय र जिल्ला प्रतिनिधिहरूले स्थानीय चुनौती, अवसर र आगामी गतिविधिबारे सुझाव राखेका थिए। प्रेस चौतारी सुदूरपश्चिम प्रदेश अध्यक्ष नरेन्द्र कार्कीको अध्यक्षतामा भएको बैठक विभिन्न जिम्मेवारी बाँडफाँडसहित २०८२ सालभर सञ्चालन हुने अभियान बारे छलफल भएको छ ।
Facebook Comment