किसानलाई स्यालो ट्युबवेल वितरण गर्दै मधेस प्रदेश सरकार

धनुषा । मधेस प्रदेश सरकारले सुक्खाग्रस्त तथा खडेरीको मारमा परेका किसानका लागि रु १८ करोड लागतमा स्यालो ट्युबवेल वितरण प्रक्रिया सुरु गरेको छ । मधेस प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सुक्खा क्षेत्र सहयोग कार्यक्रमअन्तर्गत प्रदेशका आठ जिल्लाका किसानलाई स्यालो ट्युबवेल वितरण योजना ल्याएको हो ।

धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिरहा र सप्तरीमा पानी अभावमा खडेरीबाट पीडित किसानलाई सम्बन्धित कृषि ज्ञान केन्द्रको कार्यालयबाट स्यालो ट्युबवेल वितरण सुरु गरिएको मन्त्रालयका प्रवक्ता सरोज चौधरीले जानकारी दिए । जनताको आवश्यकता तथा प्राथमिकताका आधारमा एक हजार २०० स्यालो ट्युबवेल वितरण गरिने उनले बताए ।

एउटा स्यालो ट्युबवेल जडान गर्न रु एक लाखदेखि रु तीन लाखसम्म खर्च हुने प्रवक्ता चौधरीले बताउनुभयो । सोलार जोड्दा थप खर्च हुनेछ । ट्युबवेल जडान गर्दा पानीको सतह (गहिराइ) कति छ त्यसको आधारमा खर्च लाग्ने उनको भनाइ छ ।

सूचना जारी भएसँगै अहिले कृषि ज्ञान केन्द्र धनुषामा स्यालो ट्युबवेलका लागि आवेदन दिने किसानको घुइँचो लागेको छ । केन्द्रका कृषि प्राविधिक गणेश अधिकारीले शुक्रबारसम्म एक हजार १०० भन्दा बढी आवेदन प्राप्त भएको जानकारी दिए । उनका अनुसार निवदेन बुझाउने समय आज (आइतबार)सम्म रहेकाले यो सङ्ख्या अझै बढ्छ ।

प्राविधिक अधिकारीले कार्यालयले उपलब्ध गराउने स्यालो ट्युबवेलभन्दा बढी सङ्ख्यामा निवेदन प्राप्त भइरहेको बताए । उनले भने, ‘कार्यालसँग दुई सयको हाराहारीमा स्यालो ट्युबवेल जडान गर्ने बजेट छ । तर निवदेन त्यसको दोब्बर प्राप्त भएको छ ।’

उनले प्राप्त निवेदनको छानबिन गरी मापदण्ड पुगेका किसानको खेतबारीमा स्यालो ट्युबवेल जडान प्रक्रिया अगाडि बढाउने बताउँदै यस वर्ष पर्याप्त वर्षा नभएकाले सिँचाइको विकल्प स्यालो ट्युबवेलतर्फ आकर्षण बढेको बताए ।

शुक्रबार आवेदन दिन आएका क्षीरेश्वरनाथ नगरपालिका–९ दिगम्बरपुरका किसान रामबाबु महतोले लामो समयदेखि वर्षा नभएकाले धान रोपाइँ रोकिएको बताए । उनले भने, ‘यस वर्ष समयमा पानी परेन, खेत सबै सुक्खा छ ।’

कृषि ज्ञान केन्द्र धनुषाले साउन १२ गते सूचना प्रकाशित गरेर सात दिनभित्र आवश्यक कागजातसहित निवेदन पेस गर्न आह्वान गरेको थियो । आवेदन पेस गर्नका लागि किसानसँग रु १० को हुलाक टिकट टाँस भएको आवेदन फारम, नागरिकताको प्रतिलिपि, स्थानीय तहको सिफारिस, जग्गाधनी पुर्जाको प्रतिलिपि र जडान गर्ने कित्ताको प्रमाणित नक्सालगायत कागजात माग गरेको छ । एउटा स्यालो ट्युबवेल लिनका लागि दुई बिघा खेतीयुक्त जमिनको प्रमाणित लालपुर्जा कृषि ज्ञान केन्द्रमा पेस गर्नुपर्ने छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *