गत आवमा आयोगद्वारा २९ हजार सात सय तीन बढी उजुरी फछर्यौट

काठमाडौँ । अख्तियार दुरुपोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८१÷८२ को वार्षिक समीक्षा गरेको छ । कार्यक्रममा आयोगको समग्र काम कारवाही, उजुरी प्राप्ति, छानबिन, अनुसन्धान, अभियोजन, नवीनतम कार्यहरू र आयोगका सामु रहेका सवालसहित आगामी कार्यदिशाका बारेमा छलफल भएको प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।

आव २०८१÷८२ मा आयोगमा विभिन्न माध्यमबाट प्राप्त भएका २८ हजार ५९७ उजुरी र अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका आठ हजार ४२९ उजुरी गरेर कारबाही गर्नुपर्ने जम्मा उजुरीको सङ्ख्या ३७ हजार २६ रहेको छ । प्राप्त हुन आएका उजुरीमध्ये सङ्घीय सरकारसँग सम्बन्धित १२ हजार ४७५, प्रदेश सरकारसँग सम्बन्धित चार हजार ६१८ र स्थानीय तहसँग सम्बन्धित १९ हजार ९३३ रहेको छ ।

आयोगमा उजुरी प्राप्त हुने विभिन्न माध्यममध्ये सबैभन्दा बढी उजुरी आयोगको वेबसाइटबाट प्राप्त भएको छ । वेबसाइटबाट १० हजार २४५, लिखित निवेदनबाट १० हजार १८०, इमेलमार्फत आठ हजार ४८८, हुलाक सेवाबाट पाँच हजार ५५५ समेत रहेको छ ।

यसैगरी, टेलिफोन, भाइबर, फेसबुक, मोबाइल एप, समाचार पत्र, राष्ट्रिय सतर्कता केन्द्र र हेलो सरकार समेतबाट दुई हजार ५५८ उजुरी प्राप्त हुन आएको छ । आयोगमा प्राप्त भएका उजुरीमध्ये छानबिन तथा अनुसन्धानबाट २९ हजार ७०३ अर्थात् ८० दशमलव २२ प्रतिशत उजुरी फछर्यौट भएको छ । बाँकी सात हजार ३०० उजुरी भने चालु आवमा जिम्मेवारी सरेर आएको छ । प्राप्त उजुरीमध्ये छ हजार ७१५ विभिन्न निकायमा आवश्यक कारबाहीका लागि लेखी पठाइएको छ ।

त्यस्तै, ५८६ सुझावसहित कार्यान्वयनका लागि लेखी पठाइएको छ । आयोगले आव ०८१÷८२ मा ८१ वटा बैठक बसी १३७ वटा मुद्दा दायर गर्नेसहित जम्मा एक हजार ४११ वटा निर्णय भएका छन् । विशेष अदालतमा १३७ वटा आरोपपत्र दायर भएकामा कुल ७५३ जनालाई प्रतिवादी बनाई रु पाँच अर्ब ९७ करोड ७३ लाख आठ हजार ८३८ बिगो मागदाबी लिइएको छ । तीमध्ये घूस रिसवतसँग सम्बन्धित ३७, गैरकानुनी लाभ वा हानिसँग सम्बन्धित ३६, झुट्टा नक्कली शैक्षिक योग्यताको प्रमाणपत्रसम्बन्धी २७, सार्वजनिक सम्पत्तिको हानिनोक्सानीसँग सम्बन्धित २३, गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी आठ, सम्पत्ति शुद्धीकरणसम्बन्धी दुई र विविध विषयका चारवटा छन् । रङ्गेहात कारबाही २२ वटा भएकामा ३३ जना व्यक्ति नियन्त्रणमा लिई निजबाट रु ५५ लाख १० हजार रकम बरामद भएको छ ।

आयोगबाट विशेष अदालतमा दायर भएका मुद्दामध्ये आव २०८१÷८२ मा ३९५ वटा फैसला भएका छन् । प्राप्त फैसलामध्ये विगत आर्थिक वर्षका २७६ र आर्थिक वर्ष २०८१÷८२ का ११९ वटा फैसला रहेका छन् । विशेष अदालतबाट आव २०८१÷८२ का ११९ वटा फैसलामा ६७ दशमलव २३ प्रतिशत मुद्दामा कसुर स्थापित भएको छ । विशेष अदालतबाट पूर्णपाठसहितको प्राप्त फैसलामध्ये आर्थिक वर्ष २०८१÷८२ मा सर्वोच्च अदालतमा २५१ वटा पुनरावेदन गरिएको र पाँचवटा मुद्दाउपर पुनरावलोकन गरिएको छ ।

समीक्षा कार्यक्रममा आयोग र कार्यालयबाट प्रस्तुत वार्षिक प्रगति प्रतिवेदनउपर समीक्षात्मक टिप्पणीसहित आयोगका प्रमुख आयुक्त, माननीय आयुक्त र आयोगका सचिवबाट आयोगको कार्य सम्पादनलाई थप प्रभावकारी बनाउनका लागि गर्नुपर्ने नीतिगत एवं कानुनी सुधारका बारेमा प्रकाश पार्दै उजुरी व्यवस्थापन, अनुसन्धान र अभियोजनलाई थप प्रभावकारी बनाई भ्रष्टाचार न्यूनीकरण गर्न पाँचौँ रणनीतिक योजनाले लिएका लक्ष्य पुरा गर्नेतर्फ आयोगको आगामी कार्यदिशा रहने उल्लेख गरेका थिए ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *