मन्त्री गुप्ताको राजीनामाले मात्रै पुग्दैन, पक्राउ गरी छानबिन गर्नुपर्छ : राप्रपा
काठमाडौं । भिजिट भिसा प्रकरणको उच्चस्तरीय छानबिन हुनुपर्ने माग राख्दै रास्वपा र राप्रपाले मंगलबार पनि प्रतिनिधिसभा बैठकमा विरोध जनाएको छ । मंगलबार प्रतिनिधिसभा बैठक सुरु हुने वित्तिकै रास्वपा र राप्रपाका सांसदहरूले उठेर विरोध जनाएका थिए ।
उनीहरूले भिजिट भिसा प्रकरणको अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समिति गठन हुनुपर्ने माग राख्दै निरन्तर सदनमा विरोध गरिरहेका छन् । रास्वपा र राप्रपाका सांसदहरूले उठेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले रास्वपा सांसद शिव नेपालीलाई बोल्न समय दिए।
सांसद नेपालीले अडियो प्रकरणमा मुछिएका मन्त्रीले राजीनामा दिएको अवस्थामा भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्रीले राजीनामा दिन नैतिकता देखाउन नसकेको बताए । उनले भिजिट भिसा प्रकरणमा छिटो भन्दा छिटो उच्चस्तरीय छानबिन समिति गठन हुनुपर्ने भन्दै समिति गठन नभएसम्म आफूहरूको आन्दोलन जारी रहने बताए। सरकारले बनाएको समितिबाट अपराध ढाक्ने प्रयास भइरहेको उनको भनाइ छ ।
त्यस्तै राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले घुस प्रकरणको अडियो सार्वजनिक भएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको राजीनामाले मात्रै नपुग्ने भन्दै पक्राउ गरी छानबिन गर्न माग गरे। उनले प्रधानमन्त्रीको क्याबिनेटले भ्रष्टाचारीको संरक्षण गरेको आरोप लगाए।
सांसद शाहीले बोलेपछि एमाले सचेतक सुनिता बरालले नियमापति जनाइन् । उनले प्रधानमन्त्रीमाथि शाहीले तथ्यहिन आरोप लगाएको भन्दै रेकर्डबाट हटाउन माग गरिन्। समग्र सरकार र सरकारको नेृतत्वमाथि बदनाम गर्ने प्रयास भएको भन्दै उनले आपत्ति जनाइन्।
सभामुख घिमिरेले सांसदहरूले उठाएका विषय र नियमापत्तिहरूप्रति आफ्नो ध्यानाकर्षण भएको बताए । भिजिट भिसा प्रकरणको उच्चस्तरीय छानबिन हुनुपर्ने माग राख्दै रास्वपा र राप्रपाका सांसदले सदन बहिष्कार गरेका छन्।
Facebook Comment