सिक्किममा जारको वर्ल्ड प्रिमियर
सिक्किम । यही वैशाख २६ बाट सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्म ‘जार’को सिक्किममा ग्राण्ड वर्ल्ड प्रिमियर सम्पन्न भएको छ । सिक्किम गान्तोकस्थित वाज्रा वर्ल्डमा आयोजित प्रिमियरमा विभिन्न क्षेत्रबाट प्रतिनिधित्व गर्ने विशिष्ट व्यक्तित्वहरू तथा सिक्किमबाट नेपाली फिल्म उद्योगमा प्रतिनिधित्व गर्ने फिल्मकर्मीहरुको उपस्थिति थियो ।
प्रिमियरमा सहभागी हुन निर्देशक फुर्वा छिरिङ लामाको नेतृत्वमा अभिनेताद्वय सौगात मल्ल र अनुपविक्रम शाहीसहितको टिम नेपालबाट सिक्किम पुगेको थियो । ७ सय सिट क्षमताको वाज्रा हल अतिथि दर्शकबाट भरिएको थियो । पारिवारिक कारणबस अभिनेत्री गीताञ्जली थापा भने आफ्नो फिल्मको पहिलो प्रीमियरमा सहभागी हुन सकिनन् ।
फिल्म हेरिसकेपछि स्थानीय दर्शकले उत्कृष्ट प्रतिक्रिया दिएका छन् । पर्दामा नियाल्दै केही घण्टा मात्रै पनि आफ्नै समाजको इतिहासको साक्षी बस्न पाउँदा सिक्किमेली दर्शक कोही भावुक त कोही उत्साहित देखिए । कलाकार, निर्देशक, सिनेमाटोग्राफी, विजिएम र
भिएफएक्सलाई दर्शकले तारिफ गरे । गायिका तथा संगीतकार झुमा लिम्बुको संगीत प्रशंसाको केन्द्रमा पर्ने अर्को पक्ष बन्यो । नवकलाकार सुस्मिता भुजेलको अभिनय कलालाई पनि दर्शकले स्वागत गरेका छन् ।
साहित्यकार इन्द्रबहादुर राईको कथामा आधारित चलचित्रले कृतिलाई पूर्णतः न्याय गरेको निर्देशक साम्तेन भुटियाले बताए । नेपाली मौलिकता पस्केको ुजारु अभिनय, निर्देशक र प्राविधिक सबै पक्षमा अब्बल बनेको उनको भनाइ छ ।
अभिनेता उत्तम प्रधानले फिल्म उत्कृष्ट बनेको भन्दै सम्पूर्ण टिमलाई बधाई दिए । कलाकारको अभिनय र निर्देशकीय पक्षलाई तारिफ गर्न समय खर्चेका प्रधानले नेपाली दर्शकले आफ्नो समाजको विगत थाहा पाउन फिल्म एक पटक हेर्नै पर्ने बताए ।
सिक्किम लोकसभा डेपुटी स्पिकर राजकुमारी थापा प्रमुख अतिथि रहेको कार्यक्रममा अतिथिको रूपमा सिक्किम प्रहरी प्रमुख अक्षय सच्देवा, लोकसथा सदस्य इन्द्रहाङ सुब्बा, मुखमन्त्रीका राजनीतिक सल्लाहकार ज्याकव खालिम, सिक्किम सरकारका प्रवक्ता कर्मा सुब्बा, मुख्यमन्त्री कार्यालय सचिव एसडी ढकाल लगायतका विशिष्ट राजनीतिक व्यक्तित्वहरूसहित नेपाली चलचित्र निर्माता सुस्मा गुरुङ, निर्देशक साम्तेन भुटिया, प्रशान्त रसाइली अभिनेता उत्तम प्रधान लगायत उपस्थित थिए ।
सिक्किमपछि मे ३ तारिखमा सिलिगुडी (सिलिगुरी) मा यो चलचित्रको दोस्रो प्रिमियर तय गरिएको छ । बिहीबार दार्जिलिङ पुगेर प्रचारात्मक कार्यक्रम सम्पन्न गरेपछि फिल्म टिम सिलिगुरी पुग्नेछ ।
Facebook Comment