संसदमा राप्रपा र रास्वपाको विरोध कायमै

काठमाडौं । भिजिट भिसा प्रकरणमा अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समितिको माग गर्दै आज पनि विपक्षी दल राप्रपा र रास्वपाले संसद बहिष्कार गरेका छन्। प्रतिनिधिसभा बैठक सुरू हुनेवित्तिकै राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले विरोध जनाएका थिए।

त्यसपछि सभामुख देवराज घिमिरेले रास्वपा सांसद सोविता गौतम र राप्रपाका सांसद ज्ञानबहादुर शाहीलाई बोल्नका लागि समय दिए।

रास्वपा सांसद गौतमले भिजिट भिसा प्रकरणमा छानबिन समिति गठन नभएसम्म बैठक बहिष्कार जारी राख्ने बताइन्। उनले भनिन्, ‘सभामुख महोदय,हाम्रा माग हिजो पनि आज पनि त्यही हो। नागरिक बेचिनु गम्भीर विषय हो। यसैले संसदीय छानबिन समिति गठन गरियोस्।’

त्यसपछि राप्रपा सांसद शाही बोलेका थिए। उनले सहकारी ठगीका नाइके जीबी राईलाई खोज्न सरकारको ध्यानाकर्षण गराए । उनले मिलोमतोमा नै जीबी राई लुकाइएको हो की भन्दै आशंका व्यक्त गरे । भिजिट भिसा प्रकरणमा संख्याका आधारमा नभइ अपराधका आधारमा छानबिन समिति गठन गर्नुपर्ने उनले माग गरे।

गौतम र शाहीले धारणा राखेपछि दुई दलका सांसदहरूले संसद बैठक बहिष्कार गरेका थिए ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा र छानबिनका लागि उच्चस्तरीय समितिको माग गर्दै रास्वपा र राप्रपाले जेठ १३ गतेदेखि संसदमा विरोध गर्दै आएको छ। विरोधकाबीच सभामुख घिमिरेले सदनको कार्यसूची अघि बढाएपछि दुवै दलका सांसदहरूले सदन बहिष्कार गरेका छन् ।

अध्यागमनमा सेटिङ मिलाएर नेपालीहरूलाई भिजिट भिसामा विदेश लैजाने गरेको र लाखौं रकम असुली हुने गरेको आरोप विपक्षी दलहरूको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *