दुई भाषामा रिलिज हुँदै कल्ली
काठमाडौं । फागुनको १ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘कल्ली’लाई नेपाली र हिन्दी भाषामा रिलिज हुने भएको छ । फिल्मका निर्माता किरण नेपालीका अनुसार, यो फिल्म नेपाल, भारत र पाकिस्तानमा एकसाथ रिलिज हुनेछ ।
नेपालमा नेपाली भाषामा रिलिज हुने फिल्म भारत र पाकिस्तानमा भने हिन्दी भाषामा रिलिज गरिने तयारी छ । फिल्मलाई भारतमा एम.के फिल्म डिस्ट्रिब्यूटर, पाकिस्तानमा हिप्पो फिल्मस्ले वितरण गर्नेछन् । नेपालमा भने फिल्मको वितरण काफिया र कुबेर फिल्मस्ले गर्नेछन् । नेपालमा यो फिल्म हिन्दी भर्सनमा रिलिज हुने छैन ।
लक्ष्मण सुनारको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्मको हाल धमाधम पोष्ट प्रोडक्सनको काम चलिरहेको छ । लेकाली इन्टरटेन्मेन्ट प्रालि र कस्तुरी प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको फिल्ममा महेश दवाडीको लेखन छ ।
फिल्ममा सौगात मल्ल, उत्तम प्रधान, बेनिशा हमाल, नाजिर हुसेन, अर्पण थापा, वर्षा राउत, सुलक्षण भारती लगायतका कलाकारहरुको अभिनय छ ।
यो फिल्मले लोभको कथा भन्छ । लोभ पलाएपछि मानिसको जिन्दगी कहाँबाट कहाँ पुग्छ भन्ने कथामा यो फिल्म बनेको निर्माणपक्षले बताएको छ । फिल्ममा आशिष अविरल, सरिता राई र केतन क्षेत्रीको संगीत छ ।
Facebook Comment