मिसेस नेपाल वर्ल्डको आवेदन खुला

काठमाडौं । विवाहित महिलाहरुको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड’को चौथो संस्करणका लागि आवेदन खुल्ला गरिएको छ। आयोजक संस्था रिबन ईन्टरटेन्मेन्ट प्रालिले ललितपुरको पुलचोकस्थित द प्लाजा होटलमा एक पत्रकार सम्मेलन आयोजना गरी आवेदन खुला गरिएको घोषणा गरेको हो। प्रतियोगीताको अडिसन र ग्राण्ड फिनालेको मितिसमेत सार्वजनिक गरिएको छ। आयोजक संस्थाका अध्यक्ष निशुकान्त झाले प्रतियोगिताको पहिलो चरणको अडिसन श्रावण १७ गते नयाँ बानेश्वरस्थित अर्याल इन्टरनेशनल होटलमा हुने र ग्रान्ड फिनाले असोज २८ गते नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा हुने जानकारी गराए ।

यस वर्ष मिसेस नेपाल वर्ल्डमा हास्य अभिनेता केदार घिमिरे ‘माग्ने बुढा’ र अभिनेत्री दिपिका प्रसाईं पनि जोडिएका छन्। पत्रकार सम्मेलनमा केदार प्रमूख अतिथी र दिपिका गुडविल एम्बेस्डरका रुपमा सहभागी भए। केदारले चौथो स्टेजको क्यान्सरसँग जुधिरहेकी एमएस नेपाल २०२३ सिता सुवेदीको उपचारका लागि ५१ हजार रुपियाँ सहयोग प्रदान गर्ने घोषणा गर्दै अन्य व्यक्तिलाई समेत उनलाई सहयोग गर्न आबह्वान गरे। अभिनेता घिमिरलेले मिसेस नेपाल विवाहित महिलाका लागि निकै राम्रो अवसर रहेको चर्चा गर्दै यसमा भाग लिनका लागि घर परिवारको सहयोगका साथै प्रतियोगी आफैँमा विभिन्न कुरामा पोख्न हुनुपर्ने बताए।

गुडविल एम्बेस्डर तथा अभिनेत्री दिपिका प्रसाईंले मिसेस नेपाल वर्ल्ड केवल सौन्दर्य प्रतियोगीता मात्र नभई महिलालाई आत्मविश्वाशका साथ अगाडि बढ्न हौसला दिने साझा मञ्च रहेको चर्चा गर्दै त्यसका लागि महिला स्वयंम्‌ले आत्मविश्वासका साथ अघि बढनुपर्ने बताइन्।

मिसेस नेपाल वर्ल्ड २०२४ डेनिला कार्कीले मिसेस नेपाल वर्ल्डमा भाग लिएर विजेता बनेपछि आफूले धेरैलाई केहि न केहि ढंगले सकरात्मक रुपमा प्रभावित पार्न सकेको जनाउँदै विवाहपछि पनि आफूलाई अगाडि बढाउन चाहने महिलाका लागि यो निकै राम्रो अवसर रहेकाले अंगाल्न आग्रह गरिन्।

एमएस नेपाल इन्टरनेसनल २०२४ रेश्मा घिमिरेले आफू एकल आमा र लायन्स क्लबको महत्वपूर्ण भूमिकामा समेत आवद्ध भएको खुलाउँदै आफूमा भएको इच्छा उजागर गर्दै अगाडि बढ्नका लागि प्रतियोगीता निकै उपयुक्त रहेको र विजेता भईसकेपछि आफूले विभिन्न अवसर पाएको बताइन्।

मिसेस नेपाल इन्टरनेसनल २०२४ सुयशा राउतले यो प्रतियोगिता विवाहित महिलाका लागि व्यक्तित्व विकास तथा सामाजिक हिसाबमा अघि बढ्ने राम्रो माध्यम भएको बताइन्।

त्यस्तै रिबन ईन्टरटेन्मेटका अध्यक्ष निशुकान्त झाले यस वर्षको प्रतियोगिता अझ बृहत् र व्यवस्थित ढंगले आयोजना गरिने जानकारी बताए। ‘यसपटकको मिसेस नेपाल वर्ल्ड प्रतियोगिता केवल सौन्दर्यको प्रदर्शन मात्र नभई महिलाहरूको नेतृत्व, आत्मविश्वास र सामाजिक उत्तरदायित्वलाई उजागर गर्ने गहिरो अभियानका रूपमा अघि सारिएको छ’ झाले भने। बोर्ड डाइरेक्टर आरुषी अग्रवालले मिसेस नेपाल बाहिरी सौन्दर्यको प्याजेन्ट नभई उनीहरुको सपनालाई साकार पार्ने माध्यमसमेत रहेको बताइन्।

कोरियोग्राफर आश्विनीकान्त झाले मिसेस नेपाल वर्ल्डलाई केवल राष्ट्रिय सीमाभित्र सीमित नराखी अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन विशेष योजना बनाइएको बताए। ‘हामीले यो प्रतियोगितालाई वैश्विक स्तरमा स्थापित गर्नका लागि आवश्यक पूर्वाधार र अन्तर्राष्ट्रिय समन्वयमा विशेष ध्यान दिएका छौँ। अमेरिकालगायतका देशमा रहेका नेपाली समुदाय र साझेदार संस्थासँगको समन्वयबाट नेपालको पहिचानलाई अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा अझ मजबुत बनाउने हाम्रो उद्येश्य छ’ उनले भने।

आयोजक निशुकान्त झाका अनुसार प्रतियोगितामा सहभागी हुनको लागि उचाइ र तौलको मापदण्ड राखिएको छैन, तर इच्छुक प्रतियोगी न्यूनतम एसएलसी उत्तीर्ण भने हुनुपर्नेछ। प्रतियोगितामा एकल महिलाले पनि सहभागिता जनाउन सक्नेछन्। आवेदन खल्ती एप वा रिबन इन्टरटेनमेन्टको आधिकारिक वेबसाइटमार्फत भर्न सकिनेछ। प्रतियोगिता अवधिभर विभिन्न क्षेत्रका विज्ञ प्रशिक्षकद्वारा व्यक्तित्व विकास, प्रस्तुति कला, आत्मविश्वास अभिवृद्धि, सञ्चार सीप लगायतका विषयमा विशेष प्रशिक्षण प्रदान गरिनेछ।

प्रतियोगितामा कोरियोग्राफर आश्विनीकान्त झा रहनेछन् भने नृत्य कोरियोग्राफी सन्दीप भुजेल, सहायक कोरियोग्राफर आईना गजुरेल रहने छन्। प्रतियोगिताको समन्वय सम्राट शाह र गंगा महर्जनले गर्नेछन्। मिसेस नेपाल वर्ल्डसँगै मिसेस नेपाल इन्टरनेसनल र एमएस इन्टरनेसनल उपाधिका विजेता पनि सोही मञ्चबाट घोषणा गरिनेछ।

विजेता मिसेस नेपाल वर्ल्डले आगामी वर्ष अमेरिकामा हुने मिसेस वर्ल्ड २०२५ मा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछिन्। मिसेस नेपाल वर्ल्डको उपाधि २०२१ मा दिक्षा केसी, २०२३ मा पृथ्वीया थापा र २०२४ मा डेनिला कार्कीले चुमेका थिए। पृथ्वीया थापाले मिसेस वर्ल्ड २०२३ मा नेपालको प्रतिनिधित्व गर्दै ह्युम्यानिटेरियन अवार्ड चुमेकी थिइन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *