लेक उक्लिए गोठाला

ढोरपाटन (बागलुङ) । बर्खामा लेक र हिउँदमा बँेसी सर्ने पश्चिम बागलुङका गोठालाको परम्परा नै भइसक्यो । निसीखोला, तमानखोला र ढोरपाटनका धेरैजसो स्थानीयको मुख्य पेसा पशुपालन भएकाले चरिचरनका लागि लेकबेँसी गर्ने गर्छन् ।

यस वर्ष पनि बर्खा लागेसँगै गोठालाहरु बस्तुभाउ लिएर लेक उक्लिन थालेका छन् । असार पहिलो सातादेखि नै लेक उक्लिन सुरु गरेका गोठलाहरु कोही गोठमै पुगिसके भने कोहीबीच बाटोमै छन् । असार अन्तिम सातासम्म सबै गोठला लेकमा पुगिसक्छन् ।

एकैपरिवारले सयौँको सङ्ख्यामा पशुपाल्ने हुँदा हिउँद बर्खा लेकबेँसी गर्नु परेको हो । यतिबेला लेकमा उक्लिएका गोठलाहरु अब असोज ५ गतेपछि मात्रै बेँसी झर्छन् । बर्खाभरी लेकमा बस्ने गोठलाहरुले चार महिनालाई पुग्ने खाद्यान्न र लत्ताकपडा बोकेर जाने गर्छन् ।

लेकमा बस्ने अधिकांश किसानको भेडीगोठ हुन्छ । केहीले गाई र भैँसी पनि लिएर गएका हुन्छन् । बर्खाभरी लेकमा बस्दा पशुको रेखदेखसँगै चोयाबाट बन्ने डोको, नाङ्लो, डाली, मान्द्रो र काठबाट बन्ने सामग्री बनाउने गर्छन् । जसले उनीहरुको आयआर्जनमा टेवा पु¥याएको हुन्छ ।

गोठालाहरु समुन्द्री सतहदेखि चार हजार ८०० मिटरको उचाईसम्म पुगेर गोठ बनाएर बस्ने गर्छन् । ढोरपाटन–९ का तिलबहादुर मगरले यसपाली ढिलो गरी लेक उक्लिए । उनी गत वर्ष असारको ३ गतेनै गर्पाछेडा पुगेका थिए ।

मगरले भने, ‘मेरा साथीहरु त एक साता पहिलेनै लेकमा पुगिसके, यसपाली घरमा काम गर्ने मान्छे थिएनन्, बारी बाँझो राख्न भएन, कोदो लगाएर जाउँ भन्दा ढिलो भयो, ढिलै भए पनि जसोतसो आइयो, मेरा १२÷१५ वटा गाई र गोरु छन् ।’

६७ वर्षीय मगरले आफू नौ वर्षको उमेरदेखि भेडीगोठसँग लेकबेँसी गर्न थालेको बताए । गाउँमा वस्तुभाउ पाल्ने सबै किसानहरु लेक उक्लिसकेको उनको भनाइ छ । बर्खाको समय गाउँ सुनसान हुने भन्दै दसैँ सुरु हुन थालेपछि मात्रै मान्छेहरुको चहलपहल हुने मगरले बताए ।

पहिलेको तुलनामा अहिले पशुपालन गर्नेहरुको सङ्ख्या कम हुँदै गएको उनी बताउँछन् । आफूले लामो समयदेखि पशुपालन गर्दै आएको कतैबाट अनुदान नपाएको मगरले गुनासो पोखे ।

खासगरी किसानहरु रिग, सोलेडाँडा, गर्पाछेडा, टिकाधार, पोखरा, दहखर्क, खानीखोलालगायतका लेकमा पुग्ने गर्छन् । यि क्षेत्रमा पश्चिम बागलुङका मात्रै नभएर रोल्पा, रुकुम, डोल्पाबाट पनि सयौँको सङ्ख्यामा गोठालाहरु भेडा लिएर आउने गरेको निसीखोला गाउँपालिका–६ का पृथराम घर्ती मगरले बताए ।

लेकमा धेरै ठाउँबाट गोठालाहरु आउँदा रमाइलो हुने भन्दै समस्या पर्दा एकले अर्कालाई सहयोग गर्ने उनको भनाइ छ । लेकमा पर्याप्त घाँस हुने हुँदा धेरै जसो गोठालाहरु बर्खाको समय बसीमा नबस्ने घर्ती मगरले सुनाए । उनका ५०० बढी भेडाहरु छन् ।

‘बाउबाजेले भेडाबाख्रा नपालेको भए सायद अहिले हामीहरु यो पेसामा हुने थिएनौँ, ऊ बेला पढाइ गर्ने चलन थिएन, म अहिले ७९ वर्षमा लागे, जन्मेदेखि नै बाउआमाले मलाई गोठमा हिँडाउनु भएको रैछ, त्यही भएर होला यो पेसा छोड्नै मन लाग्दैन’ घर्ती मगरले भने, ‘बुढेसकाल लाग्यो, अब त केही वर्षपछि लेक उक्लिन सकिदैन होला, बर्खामा बेँसीमा वस्तुभाउ राख्न पाइँदैन, त्यहाँ बारीभरी खेती गरिएको हुन्छ, त्यही भएर अब दसैँ मान्न मात्रै तल झर्ने हो ।’

लेकबेँसी गरेरै आफ्नो छ दशक बितेको तमानखोलाका गोरबहादुर रसाइलीले बताए । दुई महिनाका लागि चाहिने अन्नपात लिएर लेक उक्लिन थालेको उनको भनाइ छ । बिरामी नपरे र कुनै समस्या नभए भदौमा मात्रै खर्च लिन घर झर्ने रसाइलीले बताए । गाउँबाट लेक पुग्न झण्डै दुई दिन लाग्ने हुँदा लामो समयका लागि एकै पटक खर्च लिएर जाने गरेको उनी बताउँछन् ।

‘अब आउने दसैँमा २०÷३० वटा जति भेडा बिक्री गर्नुछ, त्यसले गर्दा पोहोरसालभन्दा केही दिन अगाडि बेँसी झर्ने योजना बनाएको छ, अरु केही गर्न सकिएन यस सम्पत्ति पालेरै जीविको चलाएका छौँ, आठ÷दश भेडा वर्षैपिच्छे बिक्री हुन्छन्, त्यहीबाटै नुन तेल खाने पैसा आउँछ, बेँसीमा मात्रै बसेर बस्तुभाउ पाल्न सकिँदैन’, रसाइलीले भने ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *