स्पेन भ्रमण अघि प्रधानमन्त्रीले प्रतिनिधि सभामा सम्बोधन गर्ने

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन्।

बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने तय भएको एमाले संसदीय दलका मुख्य सचेतक महेश बर्तौलाले बताए। प्रधानमन्त्री ओली आज अपराह्न स्पेन भ्रमण जाँदै छन्।

सम्बोधनका क्रममा उनले भ्रमणबारे संसदमा जानकारी गराउनुका साथै समसामयिक विषयमा सम्बोधन गर्ने बर्तौलाले जानकारी दिए।

संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने संसद सचिवालयले जनाएको छ । बैठकमा आर्थिक विधेयक, २०८२ माथि प्राप्त संशोधनसहित छलफलका लागि निर्णयार्थ प्रस्तुत गरिने छ ।
यसैगरी, बजेटसँग सम्बन्धित विधेयकहरुलाई पारित गर्ने सम्भावित कार्यसूची छ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्ने ‘आर्थिक विधेयक, २०८२’, ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८२’ लाई पारित गर्ने कार्यसूची रहेको छ ।

यस्तै, गृहमन्त्री रमेश लेखकले राज्यव्यवस्था समितिको प्रतिवेदनसहितको नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि छलफल गरी पारित गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *