प्रेमको ‘जिरो टु ८८४८’ महाअभियान
काठमाडौं । कुनै समय भ्रष्टाचार, विकृति र विसंगतिको पर्दाफास गर्दै पत्रकार प्रेम बानियाँ जनतामाझ लोकप्रिय थिए । नेपाल समाचारपत्र दैनिकमा संवाददाताका रुपमा काम गरेपछि बानियाँले एभिन्युज टेलिभिजनबाट आफ्नो टेलिभिजन करियर सुरु गरेका थिए । एभिन्युजमा ‘खबरभित्रको खबर’ कार्यक्रम उनको ब्रान्ड नै बनेको थियो । त्यसपछि न्युज २४ टेलिभिजनमा उनले अझै खरो रुपमा ‘जय स्वाभिमान’ र ‘पावर न्युज’ सञ्चालन गरे । यी पत्रकार विगत केही वर्षदेखि अमेरिका बस्दै आएका छन् ।
टेलिभिजनबाट हराएका बानियाँ अहिले नयाँ महत्वाकांक्षी प्रोजेक्टका साथ फेरि सञ्चारकर्मीमाझ प्रस्तुत भएका छन् । उनको अवधारणामा तयार भएको ‘जिरो टु ८८४८’ वृत्तचित्रले नेपालको पर्यटन प्रवद्र्धनमा नयाँ क्रान्ति ल्याउने संकेत गरेको छ । ‘यो केवल वृत्तचित्रमात्रै होइन । नेपाललाई विश्वभर चिनाउने नयाँ अभियान हो । देशका लागि उपहार हो,’ सोमबार नयाँ बानेश्वरस्थित वान सिनेमाजमा आयोजित ट्रेलर सार्वजनिक कार्यक्रममा उनले भने,‘समुद्री सतहबाट केवल ५८ मिटरमा रहेको झापाको कचनकेवलदेखि सगरमाथाको चुचुरोसम्मको यात्रा यसमा समावेश छ । जीवनपनि शुन्यबाट सुरु भएर शिखरतर्फ लम्कन्छ । विभिन्न चुनौतीहरु पार गर्दै मानिसले आफ्नो सपना पछ्याउँछ । तसर्थ यो केवल भौगोलिक आरोहण होइन, एउटा जीवन दर्शन पनि हो ।’
यो यात्राको सुरुवात बानियाँले कचनकवलबाट गरेका थिए । त्यसपछि यात्रामा अन्य पात्रहरु जोडिदैं जान्छन् । जसमा १८ पटकका सगरमाथा आरोही टेन्डी शेर्पा, हलिउड अभिनेता तथा आरोही कोन्राड एन्कर, फिल्म निर्देशक निराजन पाण्डे, आङपासाङ शेर्पालगायत छन् । ‘यसमा भौगोलिक विविधताको कथा छ । मित्रताको कथा छ । जलवायु परिवर्तनले ल्याएका असरहरु समावेश छ । सबैभन्दा ठूलो कुरा, देशप्रेम छ,’ बानियाँले भने ।
बानियाँ यात्री मात्रै भएर यस अभियानका चालक हुन् । उनकै परिकल्पना र अथक प्रयासमा निर्माण भएको यस वृत्तचित्रलाई निरञ्जन पाण्डे र बलराम बुढाथोकीले मिलेर सम्पादक, छायाँकन र निर्देशन गरेका छन् । कचनकवलदेखि सुरु भएको यात्रा इलामको कन्याम, श्रीअन्तु, धनकुटाको नाम्जे, हिले बजार, भोजपुरको मुन्धुम ट्रेल, खोटाङको हलेसी हुँदै , ओखलढुंगा, सोलुखुम्बुको पातले, सल्लेरी, बुप्सा, थामडाँडाहुँदै सुर्के, फाक्दिङहुँदै मञ्जो, नाम्चे बजार, खुम्जुङ, त्याङ्बोचे, दिङ्बोचे, लोबुचे, गोरखक्षेपपछि कालापत्थर र बेसक्याम्प क्याम्पसम्म पुग्छ । त्यसपछि क्याम्प १, क्याम्प २, क्याम्प ३, क्याम्प ४ ९साउथकोल०, हिलारी स्टेप हुँदै शिखरमा पुगेर यात्रा सम्पन्न हुनेछ ।
‘यो केवल वृत्तचित्रमात्रै होइन । देश चिनाउने हाम्रो अठोट हो,’ पत्रकार प्रेम बानियाँले भने, ‘समुद्री सतहबाट ५८ मिटरमा रहेको कचनकवललाई खनेर समुद्री सतह बराबर बनाउन सकिन्छ र त्यहाँ एउटा गाउँ बसाल्न सकिन्छ, जहाँबाट सगरमाथासम्मको यात्रा गर्न सकिन्छ भन्ने अवधारणा हामीले यसमार्फत अघि सारेका छौं । नेपालका लागि यो इतिहासको एक गौरव क्षण हो र संसारकै लागि एउटा रोचक नयाँ अध्ययाको आरम्भ हो । यो अवधारणालाई पूरा गर्ने हाम्रो लक्ष्य छ ।’
‘जिरो भिलेज’को सपना
समुद्री सतहबाट केवल ५८ मिटर उचाइमा रहेको कचनकवलको भूभागलाई खनेर यहाँ ‘जिरो भिलेज’ बनाउने परिकल्पना वृत्तचित्र निर्माण टोलीको छ छ । “हामीले ५८ मिटर तल गएर एउटा जिरो भिलेज बनाउने कल्पना गरेका छौं । यो आजसम्म कसैले सोचेको थिएन । सरकारले यसमा बजेट विनियोजन गरेर पहल गरेमा स्वागत गर्छौ । त्यस नभएमा हामी आफैंलाई पूर्णता दिन लाग्नेछौं,’ बानियाँले भने । यस परियोजनाले देशको स्वाभिमान र गौरवलाई फराकिलो बनाउने लक्ष्य लिएको उनले बताए । उनका अनुसार, यो परियोजनाले विश्वलाई तीन वटा नयाँ पहिचान प्रदान गर्नेछः शुन्यदेखि संसारको छनोसम्मको सबैभन्दा छोटो ट्रेकिङ ट्रेल (० देखि ८८४८ मिटर), ग्लोबल वार्मिङको अध्ययन गर्ने सबैभन्दा राम्रो ट्रेल र जियो–टुरिजमको बिस्तृत अध्ययन गर्ने स्थल ।
५ सय १० किलोमिटरको यात्रा गर्न झन्डै ९० दिन लागेको अनुभव बानियाँले सुनाए । यसक्रममा जीवनको उतारचढाव र साथीको महत्वलाई पनि नजिकबाट अनुभव गरेको उनले बताए । कहिलेकाहीँ जिन्दगीमा सँगै हिँड्छु भनेको साथी पनि साथ दिन सक्दैन । आफ्नै श्रीमती, बाउआमासँग पनि हिँड्न पाइँदैन,“ उहाँले भावुक हुँदै भने, ‘खुम्जुङमा पुष्कर शाहलाई लेक लागेपछि उहाँलाई छोडेर अगाडि बढ्नुपरेको क्षणलाई जीवनको एउटा कठीन पलको रूपमा स्मरण गर्छु। यात्रामा भेटेको कुकुरलाई मैले ‘जिरो’ नाम लिएको थिए र उसले मलाई पछ्याउँदै हिंडेको थियो । तर एउटा बिन्दुमा यस साथीसँगको साथ पनि टुट्यो ।’
यस वृत्तचित्रलाई अगस्ट महिनामा अमेरिकामा र जनवरी महिनामा नेपालमा सार्वजनिक गर्ने योजना रहेको उनले बताए । ‘हामी अमेरिकाका सबै राज्यमा विशेष प्रदर्शन गर्नेछौं । त्यसपछि युरोप, अस्टे«लिया, एशियाका अन्य भूभाग र अन्त्यमा नेपालका हलमा प्रदर्शन गर्ने लक्ष्य छ,’ उनले भने ।
यस परियोजनाका अन्य सदस्यहरूले पनि प्रेम बानियाँको भूमिकाको खुलेर प्रशंसा गरेका छन्। निर्देशक निरञ्जन पाण्डेले उनलाई यस परियोजनाको अवधारणाकार र मुख्य चालकको रूपमा चित्रण गर्दै भने, ‘हामी अमेरिकामा छँदा पनि देशका लागि केही गरौं भनेर छलफल गर्छौं । त्यसैक्रममा प्रेमजीले यो योजना ल्याउनुभयो । बलराम जी र म तत्कालै सकारात्मक भयौं । हामीसँग अन्य विशिष्ट व्यक्तिहरु जोडिदैं जानुभयो र अन्त्यमा शिखरसम्मको यात्रा संभव भयो ।’
विश्व साइकल यात्री पुष्कर शाहले मुन्दुम ट्रेलमा प्रेम बानियाँसँगको भेट अविस्मरणी रहेको बताए । ‘जब मैले प्रेमजीलाई मुन्धुम ट्रेलमा भेटें । तब उहाँको योजना सुनेर प्रभावित भएँ । यस वृत्तचित्रले नेपालको पर्यटक र अन्य क्षेत्रमा बहुआयामिक सम्भावनाको खोजी गर्ने विश्वास छ ।’
आरोही टेन्डी शेर्पाले बानियाँ आफ्नो मनपर्ने व्यक्तित्व रहेको बताए । ‘प्रेम दाइ मेरो एकदमै फेभरेट व्यक्तित्व हुनुहुन्छ । उहाँले लिड गरेको यो प्रोजेक्टले नेपालको बारेमा विश्वमाझ जुन परिचय दिन खोजेको छ, त्यो मलाई असाध्यै मन पर्यो,’ उनले भने,‘ यस डकुमेन्ट्रीलाई नेपालको समग्र सुन्दरता र संस्कृतिको चित्रण गर्ने माध्यमको रूपमा हेरेको छु र यसको हिस्सा बन्न पाउँदा गर्व लागेको छ ।’
ट्याग नेपालका सह–संस्थापक तथा वृत्तचित्रका लाइन प्रोड्युसर गोविन्द गुरुङले प्रेम बानियाँको परिकल्पना र त्यसलाई मूर्तरूप दिनका लागि निर्देशक पाण्डेले देखाएको सक्रियताको प्रशंसा गरे ।
Facebook Comment