काठेखोलाका ४७९ घर बाढीपहिराको उच्च जोखिममा

ढोरपाटन (बागलुङ) । जिल्लाको काठेखोला गाउँपालिकामा ४७९ घर बाढीपहिराको उच्च जोखिममा परेका छन् । सडक छेउ र खोला किनारका घर बाढीपहिराको उच्च जोखिममा परेका हुन् ।

सबैभन्दा बढी काठेखोला–७ रेशमा र वडा नं ६ तल्लो बिहुँका घर जोखिममा परेका गाउँपालिकाका प्रवक्ता टीका सङ्गम विकले जानकारी दिए । उनका अनुसार वडा नं ७ रेशमा १२६ र वडा नं ६ तल्लो बिहुँमा नौ घर बाढीपहिरोको जोखिममा परेका छन् ।

रेशका ६० घर पहिरो जाने भिरालो जमिनमा रहेका र ६६ वटा बस्तीको छेउछाउ मोटरबाटोका कारण जोखिममा रहेका प्रवक्ता विकले बताए । तल्लो बिहुँका नौ वटा घर भिरालो जमिनमा रहेकाले जोखिममा परेका उनले जानकारी दिए । आठ वटा वडा रहेको काठेखोलाका धेरैजसो वडाका घर जोखिममा परेका छन् ।

वडा नं २ भीमापोखरामा ५२ घर पहिरो जाने भिरालो जमिनमा रहेका र पाँच मोटरबाटो निर्माणका कारण जोखिममा परेका विकले जानकारी दिए । वडा नं ३ धम्जामा एक घर खोलाको जोखिममा, ४६ भिरालो जमिनमा र २१ वटा सडक छेउका घर जोखिममा परेका उनको भनाइ छ । वडा नं ४ तङ्ग्राममा १३ घर भिरालो जमिनमा रहेका र २२ वटा सडक छेउका पहिरोको जोखिममा छन् ।

वडा नं ५ माथिल्लो बिहुँमा १४ घर भिरालो जमिनमा रहेका र ५८ सडक निर्माणपछि पहिराको जोखिममा रहेका प्रवक्ता विकले बताए । वडा नं ८ लेखानीमा ५८ वटा भिरालो जमिनमा रहेका घर जोखिममा रहेका छन् । उनका अनुसार खोला किनारमा रहेका ३०, कमजोर भिरालो जमिनमा रहेका २७७ र मोटरबाटोको छेउमा रहेका १७२ घर पहिराको उच्च जोखिममा छन् ।

विपद् व्यवस्थापन समिति काठेखोलाले जोखिममा रहेका घरको तथ्याङ्क सङ्कलन गरेर नागरिकलाई सचेत बनाइरहेको गाउँपालिकाका अध्यक्ष राजु थापाले बताए । जोखिममा रहेका परिवारलाई पुनःस्थापना गर्न केन्द्र र प्रदेश सरकारसँग सहकार्य गर्ने उनको भनाइ छ ।

अध्यक्ष थापाले भने, ‘भौगोलिक अवस्था र कमजोर जमिनका कारण बर्सेनि वर्षात्को समयमा घरबस्ती बाढी र पहिराले बगाउने समस्या छ । बाढी पहिरोबाट नागरिकको ज्यान बचाउन सचेत बनाएका छौँ, ठूलो वर्षा भएको समयमा जोखिममा रहेका घरमा नबस्न आग्रह गरेका छौँ । क्षति भएमा यति धेरै घर बनाउन पालिकाको स्रोतले नसक्ने भएकाले प्रदेश र केन्द्र सरकारसँग सहकार्य गरेर सुरक्षित स्थानमा व्यवस्थापन गर्ने पहल गरिरहेका छौँ ।’




Leave a Reply

Your email address will not be published. Required fields are marked *