एक्सनको तारिफले पुलकित राज

काठमाडौं । गत जेठ ९ गतेबाट रिलिजमा आएको फिल्म ‘नरसिंहाः अवतार’ ले मुख्य रुपमा दुई कलाकार चर्चामा आए । एक थिए महानायक राजेश हमाल, अर्का थिए राज कटवाल । आठ वर्षपछि फिल्ममा कमव्याक गरेका राजेशप्रति आम दर्शकको चासो जति थियो, अभिनेता राजप्रति दर्शकको चासो पनि कम थिएन ।

महानायक हमालसँगै राज पनि काठमाडौं उपत्यकादेखि देश दौडाहासम्म पुग्दा दुवै कलाकारप्रति दर्शकको माया उस्तै थियो । फिल्ममा राजेशको दर्शकले जति तारिफ गरे, राजको अभिनय र एक्सनको तारिफ कम थिएन ।

काठमाडौंको एफक्यूब हलमा पुग्दा त राजलाई भेटेर युवती फ्यान धरधरी रोए । राजले आफूले अभिनय गरेका अधिकांश फिल्ममा रोमान्टिक हिरोको ट्याग पाइरहँदा ‘नरसिंहाः अवतार’उनले उनलाई एक्सन हिरोको छवि पनि दियो । फिल्ममा उनको एक्सनलाई दर्शकले उत्तिकै साथ दिए ।

धनगढीमा पुग्दा राजलाई दर्शकले जुरुक्कै उचालेका थिए । राज भन्छन्–‘म त निकै नै खुशी छु । दर्शकहरुले यति धेरै प्रेम दिनुहुन्छ जस्तो लागेको नै थिएन । एउटा कलाकारले प्राप्त गर्ने भनेको नै माया हो । यही माया मैले पाएको छु ।’

राज यो फिल्ममा रोमान्टिकसँगै एक्सन दुवै भावमा देखिन्छन् । उनका अनुसार एक्सन दृश्यमा उनले निकै मेहनत गर्नुपरेको थियो । ‘एक्सन मलाई पनि मनपर्ने विधा हो । त्यसकारण फिल्ममा प्रमुख भूमिकामा अभिनय गरेर दर्शकको मन जित्न पाउँदा खुशी छु ।’

दिवाकर भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्ममा राजेश हमाल, राज कटुवाल, सनिषा भट्टराई, नीति शाह, प्रशान्त ताम्राकार, राजिभ जंग बस्नेत, रमेश चन्द सोडारी, नीर शाह, दीपा शाही लगायतका कलाकारहरूको अभिनय छ । फिल्ममा नेम महर्जन, नरेन्द्र महर्जन, ध्रुव न्यौपाने, दीपक प्रसाद ढकालको लगानी छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *