तेहरानबाट ११ नेपालीको उद्धार, इरानी जेलका ५ नेपालीको उद्धार टुंगो लाग्न बाँकी
काठमाडौं । इरानको राजधानी तेहरानमा रहेका १६ नेपालीमध्ये ११ जनालाई भारतीय दूतावासले आइतबार उद्धार गरेको छ ।
दूतावासले आफ्ना नागरिकसँगै उनीहरूलाई बिहान ७ बजे तेहरानबाट बसमा कोम हुँदै मशाद लगेको छ । मशाद इरानको उत्तरी छिमेक तुर्कमेनिस्तान नजिकको सीमावर्ती शहर हो ।
तेहरानमा रहेका हरि थापाका अनुसार ११ नेपालीलाई आइतबार बिहानै जम्मा हुन ठाउँ तोकिएको थियो। ‘त्यहाँबाट हामीलाई मशाद पुर्याउने भनिएको छ। सम्भवतः मशादबाट भारतका लागि उड्छौं,’ उनले भने। तेहराइनबाट कोमसम्म बसमा पुग्न साढे दुई घण्टा लाग्छ। त्यहाँबाट मशाद पुग्न झन्डै १२ घण्टा लाग्छ। भारतीय दूतावासका अधिकारीहरू मशादमा बसेर आफ्ना नागरिकलाई उद्धार गर्दै स्वदेश पठाइरहेका छन्।
थापाका अनुसार इजरायल–इरान द्वन्द्व चर्किएपछि बुधबार सात नेपाली तेहरान छाडेर उत्तरी क्षेत्रको रस्ट पुगेका थिए। उद्धार हुने खबर पाएपछि उनीहरू तेहरान फर्किएका छन्। रस्ट तेहरानबाट ३ सय १९ किमिको दूरीमा पर्छ। तेहरानबाट आइतबार मशाद जाने तयारीमा उदयपुरका हरि थापा, उनका छोरा उत्सव थापा र उनकी श्रीमती गायत्री कार्की थापा छन्। त्यस्तै, बुटवलका विष्णु भुसाल, बुद्धिसागर पौडेल, गणेश पोखेरल, सुमन गैरे, विष्णुप्रसाद बञ्जाडे, यज्ञ मरासिनी, राजु खनाल र ललितपुरका शिवप्रसाद भट्टराई पनि मशाद जान लागेका छन्। उनीहरू तेहरानमा रहेका विभिन्न दूतावास र इरानी रेस्टुरेन्टमा काम गर्दै आएका थिए।
१६ वर्षदेखि इरानी रेस्टुरेन्टमा सेफको काम गर्दै आएका गणेश पोखरेलले बिदामा घर जान पहिले नै १ असारका लागि टिकट काटेको तर त्यसको दुई दिन नै इजरायलले आक्रमण गरेपछि रोकिनुपरेको बताए। ‘अहिले पनि म बसेको ठाउँ सुरक्षित नै छ। यहाँ भइरहेको आक्रमण टीभीमा हेर्दा मात्रै थाहा हुन्छ। बाहिर मान्छे हिँडडुल गरिरहेका छन्। बेला–बेला मिसाइल पड्केको आवाज आइराख्छ।’
इरानी जेलमा रहेका ५ नेपालीको उद्धार भने कहिले हुन्छ, निश्चित छैन। उनीहरूको उद्धार प्रक्रिया अघि बढाउन कतारको दोहास्थित नेपाली दूतावासले ३ जनाको ट्राभल डकुमेन्ट पठाइसकेको छ। दोहास्थित नेपाली दूतावासका दाङका गोविन्द डाँगी, मदन डाँगी र पुष्कर खत्रीको ट्राभल डकुमेन्ट पठाएको हो। अन्य दुई महेश डाँगी र बालकृष्ण खड्कासँग भने राहदानी छ। उनीहरू पाँचै जनालाई इरानको आवासीय कानुन उल्लंघन गरेको भन्दै डेढ महिनाअघि मात्र प्रहरीले पक्राउ गरेको थियो। उनीहरूलाई स्वदेश फर्काउन अदालतले आदेश जारी गरिसकेको छ।
परराष्ट्र मन्त्रालयले इरानमा रहेका नेपाली नागरिकको उद्धारका लागि भारत सरकारलाई आग्रह गरेको थियो। नेपाल सरकारको अनुरोधपछि तेहरानस्थित भारतीय दूतावासले उद्धारमा सहयोग गर्ने जनाउँदै सम्पर्क गर्न फोन नम्बरहरू सार्वजनिक गरेको थियो।
Facebook Comment