आध्यात्मिक, सामाजिक जागरणसँगै पर्यटन प्रवर्द्धनमा सहयोगी बन्यो कोटिहोम
गण्डकी । धार्मिक, सामाजिक जागरणका साथ पोखराको पर्यटन प्रवर्द्धन गर्न श्रीगण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट महायज्ञ सफल भएको छ । वैदिक ज्ञान, धर्म परम्परालाई आधुनिक समाजमा पुनःस्थापित गर्दै वैज्ञानिक, सामाजिक, आध्यात्मिक पक्षको उजागर गर्न कोटिहोम सफल भएको हो ।
मानव सेवा फाउण्डेशन नेपालद्वारा पोखराको बिरौटास्थित सदाशिव शिद्धेश्वर हरिहर मन्दिरको लगभग ३० रोपनी सहित आसपासको ८० रोपनी जग्गामा वैशाख १६ गतेदेखि जेठ महिनाको ३१ गतेसम्म सञ्चालन भएको कोटिहोममा नेपालका विभिन्न स्थान र भारतबाट गरी ३० लाखभन्दा बढी भक्तजनले सहभागिता जनाएका थिए । सो अवसरमा नौ करोडभन्दा बढी नगद रकम सङ्कलन भएको छ ।
वातावरणीय प्रभावको न्यूनीकरणमा सहयोग पु¥याउँदै धार्मिक र सामाजिक विधिपूर्वक स्थापना गरिएका १०० कुण्डमा आचार्य, ब्राह्मणसहित ३०० जनाले जौ, तिल, गुण, ध्यू, चक्तचन्दन र अन्य द्रव्य मिश्रित चरु तयार गरि डेढ महिनासम्म करोडौँ वैदिक मन्त्रद्वारा नित्य होम गरिएको थियो । मानसिक शान्ति, वातावरण सहित प्रत्येकको मन र मस्तिष्कलाई शुद्धीकरणका साथै गुण, ध्यू र चिनीको होमले अक्सिजन उत्पादनसमेतमा सहयोग पुग्ने विश्वास गरिन्छ ।
सनातन धर्मको अत्यन्त पवित्र, वैदिक र मान अनुष्ठानरूपमा मानिने कोटिहोममा विशेष गरी हवनात्मक, पाठात्मक, जपात्मक र अभिषेकात्मक गरि यज्ञका चार भेद मानिन्छ जसमध्ये कर्ताको सङ्कल्पअनुसार कुनै पनि मन्त्रद्वारा एक करोड २५ लाख पटक हवन, एक लाख २५ हजार तर्पण, १२ हजार ५०० मार्जन एक हजार २५० गरिने हवनात्मक यज्ञलाई कोटिहोम भनिन्छ ।
आध्यात्मिक, सामाजिक तथा प्राकृतिक सन्तुलनको संवाहक कोटिहोम यज्ञमा करोडाँै आहुति समर्पण गर्ने एक अलौकिक वैदिक प्रकृया हो जसको उद्देश्य विश्वकल्याण, राष्ट्रशान्ति, वातावरणीय शुद्धीकरण तथा सनातन धर्म तथा संस्कृतिको संरक्षण एवम् प्रवर्द्धनमा महत्वपूर्ण सहयोग पुग्ने आयोजक संस्था मानव सेवा फाउण्डेशन नेपालका अध्यक्ष एवम महायज्ञ सङ्कल्पकर्ता वालयोगेश्वर विजयश्री कृष्णमुर्ति महाराजले जानकारी दिए ।
उनका अनुसार जसले धर्म, दर्शन, प्रकृति र समाजलाई एक सूत्रमा बाँधेर सभ्यताको पुनर्जागरण गराउँछ । शास्त्रमा उल्लेख गरे अनुरुप कोटिहोमजस्ता महायज्ञको दर्शन गर्न पाउनु नै असङ्ख्य जन्मको पुण्य फलदायी हुने महान अवसर प्राप्त गर्नु हो । कोटिहोम मानव सभ्यताको समृद्धि, धार्मिक पुनर्जागरण र आत्मशुद्धिको एक अनुपम अवसर हो, जसको दर्शन गर्ने, आहुती दिने वा श्रद्धाभावले सहभागी हुने जो कोहीले पुण्य लाभ प्राप्त गर्नेछन् ।
योसँगै गण्डकी प्रदेशका शास्त्रवर्णित धार्मिक क्षेत्र, तिर्थस्थल, मठ मन्दिरको महत्वलाई विश्वभर परिचित गराउन सहयोग पुगेको छ । पर्यटकीय राजधानी पोखराको विरौटामा सदाशिव सिद्धेश्वर हरिहर मन्दिरको २९ रोपनी १२ आनासहित ८० रोपनी जग्गा वैशाख १६ गतेदेखि सञ्चालन भएको कोटिहोमले गण्डकी प्रदेशका शास्त्रवर्णित धार्मिक क्षेत्र, तिर्थस्थल, मठ मन्दिरको महत्वलाई परिचित गराउन सफल हुने विश्वास अध्यक्ष कृष्णमुर्तिको दाबी छ ।
‘पोखरामा कोटिहोम गर्नका लागि सुरुका दिनमा केही विवाद भएपनि पछिल्लो समयमा सबैको अपनत्व हुने गरि सदाशिवजी हरिहरको शक्तिको प्रभावले गुठी जग्गामा उत्साहपूर्वक सम्पन्न भएको छ’ उनले भने ।
सदाशिव सिद्धेश्वर हरिहर मन्दिर व्यवस्थापन समिति पोखरा–१७ महतगौडा सितापाइलाका अध्यक्ष नगेन्द्र शर्माका अनुसार कोटिहोमले ऐतिहासिक, पुरातात्विक एवम् प्राचीन मन्दिरको प्रचार प्रसारमा महत्वपूर्ण सहयोग पुगेको छ । सो स्थानमा निर्माण गरि दैनिक हवन गरिएको मुख्य कुण्ड रहेको छ जसमा नित्य हवन हुने उनको भनाइ छ ।
अध्यक्ष शर्माले भने, ‘मुक्तिनाथ दर्शन गर्ने प्रत्येक तिर्थालु भक्तजनले ल्याएको जल हरिहर मन्दिरमा चढाउने र विधिपूर्वक गरिएको होमको विभूती (खरानी) स्वस्ती शान्तिको प्रतिकका रूपमा प्रत्येकको घरमा पु¥याउने लक्ष्य कोटिहोमको छ । यसबाट हरिहर मन्दिरको महत्व थप उचाईमा पुग्ने विश्वास छ । पोखरा भ्रमण बर्ष २०२५ लाई समेत कोटिहोमले धार्मिक पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको छ । गुप्तेश्वर गुफामा यस अवधिमा दश प्रतिशतले आन्तरिक पर्यटनको बृद्धि भएको गुफा व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण बास्तोलाले जानकारी दिए ।
कोटिहोम अवधिमा उक्त पुण्य भूमिमा पण्डितवाट नृत्य हवन, बिभिन्न धार्मिक व्यक्तिबाट प्रवचन गर्नुका साथै पाँच सय २५ जनाको सामूहिक ब्रतवन्ध, १२० जनाले तुलादान, १३५ जनाको चौरासी पुजा, १४६ जनाको नवग्रह शान्ति, १४ जनाको काल सर्पयोग पुजन, अर्क विवाह पाँच, अष्टमहादान चार, पितृको अर्चना ३३, लघुरुद्री ५, अतिरुद्री १८, विवाह १, गुन्यो चोली ५ लाखवत्ती प्रज्ज्वलनलगायत ४५ जनाले विभिन्न पूजा सम्पन्न भएको मानव सेवा फाउन्डेसनका व्यवस्थापक विष्णु थापाले जानकारी दिए । कोटिहोममा भएको रक्तदान कार्यक्रममा आजसम्म ९०८ प्वइन्ट रगत संकलन भएको थियो ।
कोटिहोमका अवसरमा अन्नपूर्ण गाउँपालिका विष्णुमाया जैसीले तीन रोपनी, दुर्गादत्त उपाध्यायले पाँच रोपनी, मादी गाउँपालिकाका निलकण्ठ पौडेलले तीन रोपनी, नुवाकोटका पार्वती न्यौपानेले चार आना, स्याङ्जाका तारा रेग्मीले एक रोपनी, पोखरा धारापानीका गङ्गा केसीले दुई रोपनी समेतबाट कूल १७ रोपनी जग्गा दान प्राप्त भएको थियो ।
कोटिहोममा भागवत मञ्जरी राधिका दासी, अन्तर्राष्ट्रिय कथा वाचिका देवी प्रतिभा, पण्डित श्री अमृत शरणदेवाचार्य, दिनबन्धु पोखरेल, कान्छी वाचिका अनुराधा पाण्डे, पण्डित नारायण कृष्ण पाण्डे, चैतन्यकृष्ण महाराज, शितलकृष्ण महाराज, पुनव यादव, महामण्डलेश्वर कैलाशानन्द गिरीजी महाराज लगायतले प्रवचन दिएका थिए ।
यसअघि पशुपतिनाथ क्षेत्रबाट सुरु भएको कोटिहोम पोखरा हुँदै मुलुकका छ प्रदेशमा सम्पन्न गरी पुनःपर्यटकीय नगरी पोखरामा २०८४ साल वैशाखमा गर्ने सङ्कल्पसहित सम्पन्न भएको हो ।
Facebook Comment