संसद्को गतिरोध हटाउन सभामुख र गृहमन्त्रीबीच छलफल
काठमाडौं- सभामुख देवराज घिमिरे सदनको अवरोध हटाउन छलफलमा जुटेका छन्। भिजिट भिसा प्रकरणलाई लिएर प्रतिपक्षी दलहरूले सदनमा विरोध जारी राखेका छन्।
प्रतिपक्षी दल रास्वपा र राप्रपाले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा र छानबिनका लागि उच्चस्तरीय समिति गठनको माग गर्दै सदनमा अवरोध जारी राखेका हुन्।
आजका लागि बोलाइएको प्रतिनिधिसभा बैठकमा प्रतिपक्षी दलहरूले अवरोध कायमै राख्ने भएपछि सभामुख घिमिरेले गृहमन्त्री रमेश लेखकसँग छलफल गरिरहेका छन्। उनीहरूबीच दुई बुँदे सहमति कार्यान्वयन,रास्वपाको मागलगायत विषयमा छलफल भइरहेको सभामुखको सचिवालयले जनाएको छ।
गृहमन्त्रीसँगको छलफलपछि रास्वपाका प्रमुख सन्तोष परियारसँग पनि छलफल हुने जनाइएको छ। यसअघि सभामुखले दलहरूका प्रमुख सचेतकहरूसँग छलफल गरेपनि सहमति जुटेको छैन।
आइतबार र सोमबारको बैठकमा रास्वपा र राप्रपाले अवरोध गरेका थिए। अवरोधकै बिच सभामुखले सदन सञ्चालन गरेका थिए।
Facebook Comment