प्रचण्डले वाईसीएलको नयाँ टीमलाई भने: प्रतिक्रियावादी र प्रतिगमनकारीविरुद्ध खरो उत्रनुहोस्

काठमाडौं— नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिक्रियावादी र प्रतिगमनकारी शक्तिविरुद्ध खरो र दरोरुपमा उभिन वाईसीएललाई निर्देशन दिएका छन्।

सोमबार माओवादी केन्द्रको सहायक संगठन योङ कम्युनिष्ट लिग (YCL) को तेस्रो राष्ट्रिय सम्मेलनबाट निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना दिँदै अध्यक्ष प्रचण्डले जनयुद्ध र जनआन्दोलनबाट उपलब्धीहरू उल्ट्याउने प्रयास भइरहेको भन्दै उनले त्यसका विरुद्ध सशक्तरुपमा उत्रिन भनेका हुन्।

‘प्रतिक्रियावादी र प्रतिगमनकारीहरूले हामीले जनयुद्ध र जनआन्दोलनका उपलब्धीहरूलाई उल्ट्याउन सकिन्छ कि भनेर लागिपरेका छन्। कहिनकहिँ जनयुद्धको, माओवादी आन्दोलनको, जनमुक्ति सेनाको भूमिकालाई अपमानित गर्ने कोशिस पनि भइरहेका छन्,’उनले भने,’यो टिमले पार्टीको लिडरसीपमा, पार्टीको आदेशमा सबैखाले प्रतिक्रियावादी र प्रतिगमनका विरुद्ध आफूलाई खरो र दरो सावित गर्नेछ भन्ने मलाई लागेको छ।’

संगठनलाई गतिशीत बनाउन वाईसीएलले महत्वपूर्ण भूमिका खेल्ने उनले विश्वास व्यक्त गरे। अध्यक्ष प्रचण्डले समाजवादी क्रान्तिको आधार तयार पार्ने काममा पार्टी रहेको र यसमा युवा र वाईसीएलको महत्वपूर्ण भूमिका रहने बताए।

नयाँ क्रान्तिको माध्यमबाट मुलुकमा राजनीतिक स्थायित्व र भ्रष्टाचारको अन्त्य गर्दै आर्थिक समृद्धि कायम गर्ने मुख्य जिम्मेवारी माओवादीको भएको जिकिर गरे।




Leave a Reply

Your email address will not be published. Required fields are marked *