विपद्मा परी मधेसमा चालु आर्थिक वर्षमै ४२२ को मृत्यु
महोत्तरी । मधेस प्रदेशमा चालु आर्थिक वर्षमै विपद्मा परी ४२२ जनाको ज्यान गएको छ ।
बर्दिवासमा आज मधेस प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले आयोजना गरेको विपद्सम्बन्धी जनचेतनामूलक कार्यक्रममा प्रदेश प्रहरी कार्यालयले बाढीले बगाएर, पानीमा डुबेर, चट्याङ, आगलागी, हावाहुरी र हिंस्रक जन्तुको आक्रमणसहितका घटनामा परी उक्त सङ्ख्यामा मानवीय क्षति भएको जनाएको हो । साना ठूला गरी यस अवधिमा दुई हजार २५८ विपद्का घटना घटेकामा ९०० जना घाइते र रु ५६ करोड ६७ लाख २४ हजार २१२ बराबरको आर्थिक क्षति भएको प्रदेश प्रहरी कार्यालयले प्रस्तुत गरेको तथ्याङ्कमा उल्लेख छ ।
प्रदेशका आठ वटै जिल्लामा दुई लाख २८ हजार ६८७ सर्वसाधारण वर्खाजन्य विपद्को जोखिममा रहेको प्रदेश प्रहरी कार्यालय जनकपुरधामको आँकलन छ । यो सङ्ख्या प्रदेशका ५२ हजार ३३१ प्रिवारको रहेको प्रदेश प्रहरी प्रमुख उमाप्रसाद चतुर्वेदीले स्पष्ट पारे ।
महोत्तरी, धनुषा र सर्लाही तीन जिल्लालाई समेटेर गरिएको कार्यक्रममा गृह, सञ्चार तथा कानुन मन्त्रालयका सचिवसहितका अधिकारी, प्रदेशस्थित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रमुखसहित सुरक्षा निकायका प्रमुखको सहभागिता थियो । विपद् प्रतिकार्य र उद्धारमा सरिक हुँदै आएका सामाजिक सङ्घसंस्थाका अधिकांश अगुवाहरुले विपद् लापरबाही र अटेरीपनले पनि हुने गरेका टिप्पणी गरे ।
विकास योजना सञ्चालन गर्दा विपद् सम्वेदनशीलता नअपनाइने सहभागीहरुले टिप्पणी गर्नुभयो । मधेसमा डुबान, कटानजस्ता विपद् सडक बनाइँदा बन्द गरिएका ढल, पानीको प्राकृतिक निकास अवरुद्ध र इटा, बालु, ढुङ्गा र फलामे छड जथाभावी राखिने क्रमले पनि हुने गरेको महोत्तरीका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले बताए । महोत्तरीका सात वटा स्थानीय तह सधैँ वर्खा सुरु हुनासाथ कटान र डुबानको जोखिममा रहने गरेका उनँको भनाइ छ ।
विपद्का प्रकृति, अवस्था र निदानका उपायबारे स्थानीय तहले नै प्रारम्भिक नक्साङ्न गरेर जिल्लास्थित विपद् व्यवस्थापन समिति, प्रादेशिक र सङ्घीय सरकारमा पहलकदमी लिन पर्नेमा त्यस्तो हुन नसकेको सहभागीको गुनासो थियो ।
प्रदेशमै विपद पूर्वतयारीका काम खासै नभएको गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीको स्वीकारोक्ति छ । यसअघि यस्तो प्रयास भएको नपाइएपनि जनधनको सुरक्षार्थ यसपालि बर्खापूर्व योजनाबद्ध तयारी थालिएको उनले जानकारी दिए । आगामी आर्थिक वर्ष २०८२÷०८३ को बजेटमा विपद् बचावका कार्यक्रम समावेस गरिने, प्रतिकार्य र उद्धार प्रभावकारी बनाउन कार्ययोजना बनाइने उनले प्रतिबद्धता जनाए ।
Facebook Comment