विद्यालयलाई लाज शरणमको सहयोग

काठमाडौं । फिल्म ‘लाज शरणम्’ निर्माण टिमले प्रदर्शनको १०१औँ दिन मनाएको अवसरमा विद्यार्थीलाई सहयोग गरेको छ । फिल्मले सिन्धुपाल्चोकको चौतारा सांगाचोकगढी नगरपालिका ५ मा रहेको बालकल्याण आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई ३० थान स्कुल ड्रेस, ब्याग र पानी पिउने बोतल सहयोग गरेको हो ।

मदर किड्स फाउन्डेसन नेपालको आयोजनामा फिल्मका निर्माता नवीन श्रेष्ठले उक्त सहयोग हस्तान्तरण गरेका हुन् । ‘सफलतापूर्वक प्रदर्शन भइरहेको फिल्म लाज शरणमको गौरवमय १०१ औं दिनको उपलक्ष्यमा हामीले विद्यार्थीहरुलाई सहयोग रहेका छौँ । यो अवसरका निम्ति आयोजक मदर किड्स फाउन्डेसन नेपाल र एसीके केटिएम सिन्धु चौतारा सिटीलाई धन्यवाद दिन्छु,’ निर्माता श्रेष्ठले भने, ‘हामी आगामी दिनमा पनि यस्तो सहयोग गर्दै जानेछौँ । सामाजिक काममा सहकार्य गर्दै जानेछौँ ।’

कुमार कट्टेलको निर्देशन रहेको फिल्मले काठमाडौंको न्यूरोडमा रहेको रञ्जना सिनेप्लेक्स र गोंगबुस्थित बीएसआर मुभिजमा प्रदर्शनको १ सय १ दिन मनाएको हो । यो फिल्म गत वर्ष कात्तिक १५ गते रिलिज भएको ‘पूर्ण बहादुरको सारङ्गी’पछि १०१ दिन मनाउने दोस्रो फिल्म हो ।

फिल्ममा सीताराम कट्टेल, विजय बराल, अर्पण थापा, महेश त्रिपाठी, मुकुन्द श्रेष्ठ, विजय लामा, रेणुनाथ योगी, सागर लम्साल, हरि निरौला, अर्जुन घिमिरे, कमलमणि नेपाल, प्रियाना आचार्य, दयाहाङ राई र बुद्धि तामाङलगायत लगायतको अभिनय छ । यो फिल्ममा निर्देशकसमेत रहेका कुमार कट्टेल ‘जिग्री ब्रो’ पनि विशेष भूमिकामा छ ।

जेपीटी क्रिएसनको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता नवीन श्रेष्ठ हुन् । रामनरेश शाह र सिर्जना खड्का सह–निर्माता रहेका छन् । आफूले बनाएको फिल्मले १०१ दिन मनाएपछि निर्माता श्रेष्ठले पहिलो फिल्ममा दर्शकले दिएको माया र हौसलाले थप उत्साही बनाएको बताएका छन् ।

निर्माता श्रेष्ठले आगामी फिल्म ‘पाँच पाण्डव’ निर्माण गर्ने तयारी समेत गरेका छन् । उक्त फिल्मको पटकथा सुशील पौडेलले तयार पारिरहेका छन् । फिल्ममा वसन्त निरौलाको निर्देशन हुनेछ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *