प्रतिनिधि सभा अघि विपक्षी दलको बैठक
काठमाडौं— प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रसहित विपक्षी दलहरूको बैठक जारी छ। संसद भवन नयाँ बानेश्वरस्थित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यकक्षमा बैठक बसिरहेको हो।
प्रतिनिधिसभा बैठकअघि विपक्षी दलको बैठक बसेको हो। प्रतिनिधिसभा बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ। बैठकमा संसदको गतिरोधका विषयमा छलफल भइरहेको जनाइएको छ।
सोही विषयमा छलफल गर्न सभामुख देवराज घिमिरेले तीन दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए। तर, दलहरू आ-आफ्नो अडानबाट पछि नहटेपछि छलफल निष्कर्षविहीन बनेको छ।
विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा र छानबिन समिति गठनको अडान राखेपछि संसद बैठक नियमित कार्यसूचीमा प्रवेश गर्न सकेको छैन। सोही विषयका कारण जेठ १३ गतेदेखि प्रतिनिधिसभा बैठक प्रभावित हुँदै आएको छ।
संसदको अवरोध खुलाउने विषयमा अध्यक्ष प्रचण्ड र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाबीच शनिबार छलफल भएको थियो। सभापति देउवासँग भएको छलफलका विषयमा विपक्षी दलहरूलाई प्रचण्डले ब्रिफिङ गर्ने जनाइएको छ।
सभामुख देवराज घिमिरेले पनि सत्तापक्ष र प्रतिपक्षसँग पटकपटक छलफल गरिरहेका छन्। तर,पनि दलहरूबीच सहमति जुट्न सकेको छैन। कांग्रेस -एमाले सो विषयमा अख्तियारले अनुसन्धान गरिरहेकाले अहिले नै राजीनामा दिन आवश्यक नभएको बताएका छन्।
जेठ १५ गते बजेट ल्याउन दिए पनि त्यसयता बैठक बस्न सकेको छैन। जसले गर्दा आर्थिक वर्ष २०८२/०८३ को बजेटमाथिको छलफल प्रभावित भएको छ।
Facebook Comment