चलचित्र समिक्षक समाजको अध्यक्षमा तिमिल्सेना
काठमाडौँ । चलचित्र समिक्षक समाज नेपाल (फिक्सन) को अध्यक्षमा सामीप्यराज तिमल्सेना चयन भएका छन् । पिङ्ग्लास्थानस्थित नेपाल फिल्म क्याम्पसमा सम्पन्न समाजको साधारणसभाले उनको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
नेपाल पत्रकार महासङ्घमा आबद्ध एसोसियट संस्थाको रुपमा रहेको ‘फिक्सन’ को खुल्ला उपाध्यक्षद्वयमा भेषराज कार्की र अनिल यादव, समावेशी तथा महिला उपाध्यक्षमा रीना मोक्तान, महासचिवमा प्रभाकर गौतम, खुल्ला सचिवमा नरेश फुयाँल, समावेशी तथा महिला सचिवमा लक्ष्मी बलायर र कोषाध्यक्षमा समर्पण श्रीलाई सर्वसम्मत रुपमा चयन गरिएको छ ।
यस्तै, कार्यसमिति सदस्यहरुमा सुशीला तामाङ, सङ्गीता गिरी, अभिमन्यु दिक्षित, प्रशुन सङ्ग्रौला र श्रीजु सरल चयन भएका छन् । नेपाल पत्रकार महासङ्घका सचिव प्रकाश धौलाकोटीले ‘फिक्सन’ एसोसिएट मध्येको पुरानो संस्था भएकाले महासङ्घ सदैव हातेमालो गर्न तत्पर रहेको बताए ।
साधारणसभामा निवर्तमान अध्यक्ष दीपेन्द्र लामा, पूर्वअध्यक्ष यज्ञसराज पण्डित, पूर्वमहासचिव नारायण अमृत, निवर्तमान उपाध्यक्ष स्मृति ढुङ्गानालगायत सहभागी थिए । नवनिर्वाचित अध्यक्ष तिमिल्सेनाले ‘फिक्सन अवार्ड’लाई निरन्तरता दिने बताए ।
Facebook Comment