मूर्तिसहित साढे ३० लाखको सामान बरामद
नवलपरासी— प्रहरीले मूर्तिसहित साढे ३० लाख बराबरको अवैध सामान बरामद गरेको छ।
नवलपरासीको बर्दघाटतर्फ लैजान राखिएको अवस्थामा उक्त सामान बर्दघाट नगरपालिका–६ बेतहानीबाट बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी वीरदत्त पन्तले जानकारी दिए ।
बरामद सामानमा सबैभन्दा बढी मोबाइलमा प्रयोग हुने सामान छन् । जसमा १५ लाख बराबरको मोबाइल ग्लास,८ लाख बराबरको एयर फोन र ६ लाख बराबरको मोबाइलको एयर पोड्स र कभर रहेका छन् । त्यसैगरी एक लाख ६३ हजार बराबरका ३७५ थान पित्तलका मूर्ति रहेका छन् ।
विभिन्न भगवानको प्रतिक रहेको उक्त मूर्ति पसलहरूमा बिक्रीका लागि लैजान लागिएको बताइएको छ । उक्त सामानलाई प्रहरीले बेबारिसे देखाउँदै सडक किनारमा प्लाष्टिकमा राखेको अवस्थामा बरामद भएको जनाएको छ ।
मंगलबार राति बरामद भएका सबै सामानलाई आवश्यक कारबाहीका लागि महेशपुर भन्सार कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ । भारतबाट भन्सार छलेर ल्याइएको उक्त सामान भूजहवा र बसैया नाकाबाट ल्याइएको बताइएको छ । त्यस क्षेत्रबाट अहिले चिनी, चामल र अन्य सामानको अवैध कारोबार हुँदै आएको स्थानीयले बताएका छन् ।


 
 						 Intro Nepal
Intro Nepal										 
 										 
 										 
 										 
 										 
 										
Facebook Comment