कोशीका पर्यटकीय गन्तव्य पाहुनाको स्वागतलाई तयार छन्: शाह

काठमाडौं- काेशी प्रदेश पर्यटन वर्ष २०८२ का सहसंयाेजक कृष्णकुमार शाहले आफू काेशी प्रदेशमा जन्मिएकाेमा गर्व लाग्ने बताएका छन् ।
अन्तरराष्ट्रिय बुद्धिष्ट ट्रावल मार्टको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा शाहले कोशी प्राकृतिक सुन्दरताको अनुपम क्षेत्र भएको बताए ।

`म कहिलेकाहीँ काेशी प्रदेशमा जन्मिएकाेमा गर्व गर्छु । किनभने म सुन्दर काेशीमा जन्मिएकाे हुँ । प्रदेश राजधानी विराटनगरबाट सगरमाथासम्मै सांस्कृतिक र प्राकृतिक विविधता छन्,´ उनले भने ।

काेशी प्रदेशकाे भ्रमण गर्ने पर्यटकले अर्नाकाे राजधानी भनेर चिनिने काेशी टप्पु वन्यजन्तु आरक्षलगायतका निकुञ्जमा वन्यजन्तु अवलाेकन गर्न सक्ने उनले बताए।

मार्टमा सहभागी विभिन्न देशका पाहुनालाई कोशी भ्रमणको निम्ता गर्दै शाहले भने, `संसारकाे शीर सगरमाथा लगायत संसारका १४ सर्वाेच्च शिखरमध्ये पाँचवटा काेशी प्रदेशमा छन्। त्यहाँकाे पर्वतीय पर्यटन संसारकै सबैभन्दा एड्भेञ्चरस् र उत्कृष्ट शिखर पर्यटन हाे ।´

उनले कोशीका पर्यटकीय गन्तव्य पाहुनाको स्वागत गर्न तयारी अवस्थामा रहेको बताए।

उनले काेशी प्रदेश अन्यकाे तुलनामा सहज यातायात पहुँच भएकाे प्रदेश भएकाे दाबी गरे । उनले भने, `काेशी प्रदेशमा विराटनगर, फाप्लु, लुक्ला, सुकेटार लगायत एयरपाेर्ट छन् । विभिन्न राजमार्गमार्फत पर्यटकले सबै पहाडी जिल्लाकाे सहज भ्रमण गर्न पाउँछन् ।´

शाहले काेशी प्रदेश सांस्कृतिक विविधताका दृष्टिले समेत नेपालकाे समृद्धतम् प्रदेश भएकाे जिकिर गरे । उनले भने, `सम्भवत: संस्कृतिमा नेपालकै सबैभन्दा धनी प्रदेश हाे काेशी । यहाँ लिम्बू, राई, शेर्पा, तामाङ, राजवंशी, काेच आदि संस्कृति छन्- जसले सांस्कृतिक विविधताकाे इन्द्रेणी छ । यी संस्कृतिले जगेर्ना गरिरहेका माैलिक नाँचहरू साकेला, धान नाँचलगायत जातजातिका नाँचले हामी समृद्ध छाैँ ।´

उनले रामकाे विवाहकाे प्रसङ्ग पनि काेट्याए । रामधुनीकाे सांस्कृतिक महत्व दर्शाउँदै मर्यादा पुरुषाेत्तम श्रीरामकाे जन्ती रामधुनीस्थित ऋषि विश्वमित्रकाे आश्रमबाट लगिएकाे दाबी गरे । `रामधुनीबाट रामकाे जन्ती लगिएकाे थियाे र आगामी दिनमा रामधुनीबाट जन्ती लैजानुपर्छ भन्ने हाम्राे मान्यता छ,´ उनले भने ।
संसारकाे पहिलाे तीर्थ बराहक्षेत्र पनि काेशी प्रदेशमै रहेकाले काेशी प्रदेशकाे पर्यटन सबै काेणबाट समृद्ध रहेकाे र अन्तर्राष्ट्रिय बजारमा पुर्याउन जरुरी रहेकाे बताए ।

काेशी प्रदेश पर्यटन वर्ष २०८२ काे सचिवालय अन्तर्राष्ट्रिय बुद्धिष्ट ट्रावल मार्टकाे डेस्टिनेसन प्रायाेजक समेत हो। मार्टमा काेशी प्रदेश पर्यटन वर्ष २०८२ काे सचिवालयले तयार पारेकाे डकुमेन्ट्री, मुकाम म्यागेजिन र तीनवटा करिडाेरकाे गन्तव्यका बारेमा तयार पारिएका अङ्ग्रेजी र नेपाली दुवै भाषाका प्रचारसामग्री प्रदर्शन र वितरण गरिएकाे थियाे ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *