थाइल्याण्डसँग ७८ रनले हार्‍यो नेपाल

काठमाडौं— नेपाल थाइल्याण्डसँग ७८ रनले पराजित भएको छ। आइसीसी महिला टी २० विश्वकप एसिया क्षेत्र छनोटको सुपर थ्री अन्तर्गत तेरथाई क्रिकेट स्टेडियममा आज भएको अन्तिम खेलमा थाइल्याण्डसँग नेपाल पराजित भएको हो।

टस हारेर ब्याटिङको निम्तो पाएको थाइल्याण्डले १५८ रन बनाएको थियो। थाइल्याण्डले दिएको १५९ रनको विजयी लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ८० रन मात्रै बनाएको हो।

नेपालका लागि ओपनरद्वय सम्झना खड्का र रुबी पोडारले दोहोरो अंकमा रन बनाउन नसक्दा कविता कुँवरले सर्वाधिक रनको रुपमा २४ रन बनाइन्। रुबिना क्षेत्रीले १२ रन बनाउँदा राजमती ऐरी २० रनमा अविजित रहिन्।

थाइल्याण्डका लागि ओनिचा काम्चोम्पुले सर्वाधिक ४ विकेट लिइन्। थिपात्चा पुथ्थाबोङले ३ र सुलिपोन लाओमीले १ विकेट लिइन्।

त्यसअघि, ब्याटिङ गरेको थाइल्याण्डका लागि नानपत कोन्चारोन्काइले अविजित ५० रन बनाइन् । उनले २८ बलमा आक्रामक अर्धशतक बनाइन्। ओपनर नताया बूचाथामले पनि ५० रन बनाइन् । अफिसरा सुवानचोनराथीले २९ रन बनाइन् ।

नेपालका लागि बलिङतर्फ मनिषा उपाध्याय र राजमति ऐरीले १–१ विकेट लिए । नेपाल र थाइल्याण्ड दुवैले यूएईलाई हराउँदै ग्लोबल क्वालिफायरमा स्थान बनाइसकेका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *