कांग्रेस सभापतिसँगको छलफलपछि ओलीले डाके मन्त्रिपरिषद
काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरे लगत्तै ओलीले आज साँझ ५ बजे बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बोलाएका हुन्।
सोमबार साँझ मन्त्रिपरिषद्को बैठक बोलाइएपनि प्रधानमन्त्री ओली अस्वस्थ भएपछि बैठक स्थगित भएको थियो। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा सरकारका नियमित काम कारबाहीबारे छलफल हुनेछ। बैठकबाट केही नियुक्ति, बढुवा लगायतका निर्णय हुने बताइएको छ। सिफारिस समितिको बैठक बसेर निर्णय भएको खण्डमा आजै नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको सम्भावना छ।
उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री रमेश लेखकसहित ओली र देउवाबीच आज बिहान छलफल भएको छ। स्रोतका अनुसार भेटमा उनीहरुबीच नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति, आगामी जेठ १५ गते सरकारले ल्याउने बजेट, सदनलाई प्रभावकारी बनाउन र समसायमिक राजनीतिक विषयमा छलफल भएको छ। गत चैत २४ गतेदेखि नेपाल राष्ट्र बैंकमा गभर्नर रिक्त छ।
गभर्नर नियुक्तिमा ढिलाई भइरहेको बारेमा नेपाली कांग्रेसका सभापति देउवाले प्रधानमन्त्री ओलीका कारण नभएको बताएका छन्। देउवाले प्रधानमन्त्रीका कारण नभइ राष्ट्र बैंकमै समस्या भएका कारण गभर्नर नियुक्तिमा ढिलाइ भएको बताएका थिए। प्रधानमन्त्री ओलीले गभर्नर चयनको जिम्मा कांग्रेसलाई दिएको उनको भनाइ छ। गभर्नर नियुक्तिको विषयलाई लिएर सत्ता गठबन्धनमा खटपट चलिरहेको चर्चा भइरहेपनि बालुवाटारमा दुई शीर्ष नेताबीच नियमित भेटघाट चलिरहेको छ।
Facebook Comment