जलस्रोत विधेयक प्रतिनिधि सभाबाट पारित

काठमाडौं— प्रतिनिधिसभा बैठकबाट ‘जलस्रोत विधेयक, २०८१’ पारित भएको छ । सोमबार बसेको बैठकमा ऊर्जा,जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए।

उक्त प्रस्तावलाई सभामुख देवराज घिमिरेले निर्णयार्थ प्रस्तुत गर्दा बहुमतले पारित गरेको हो । त्यसअघि बैठकमा पूर्वाधार विकास समितिको प्रतिवेदनसहितको जलस्रोत विधेयक,२०८१ माथि छलफल भएको थियो । छलफलका क्रममा आएका जिज्ञासाको जवाफ दिँदै मन्त्री खड्काले जलको सदूपयोग र संरक्षण गर्नका लागि आवश्यक कानुन व्यवस्था तर्जुमा गर्न सरकारले विधेयक ल्याएको बताए । उनले जलस्रोतको दिगो विकास, उपयोग, संरक्षण एवम् व्यवस्थापन, लाभको न्यायोचित बाँडफाँड लगायतमा विधेयक महत्वपूर्ण रहेको उल्लेख गरे।

विधेयकमा बाँध वा जलाशयको निर्माण गरी आयोजनाको विकास गर्दा त्यस्तो बाँध वा जलाशयबाट माथिल्लो र तल्लो तटीय क्षेत्रले प्राप्त गर्ने लाभ र जोखिमको विश्लेषण गरी तोकिएबमोजिम लाभको गणना र बाँडफाँड गर्नुपर्ने,जलस्रोतको एकीकृत एवं दिगो विकास,उपयोग,संरक्षण र व्यवस्थापनका लागि आयोगको स्थापना गर्ने लगायत उल्लेख छ ।

सरकारले २०८१ जेष्ठ ३१ गते संसदमा जलस्रोत विधेयक दर्ता गरेको थियो ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *