अदानचुली गाउँपालिका पूर्णखोप सुनिश्चित घोषणा

अदानचुली (हुम्ला) । अदानचुली गाउँपालिकालाई पूर्णखोप सुनिश्चित पालिका घोषणा गरिएको छ । छवटै वडा पूर्णखोप सुनिश्चित भइसकेको र त्यहाँ गाउँपालिकास्तरबाट अनुगमन गर्दा निर्धारित उमेर समूहका बालबालिकाले पूर्णखोप लगाएको पाइएपछि आज गाउँपालिकालाई पूर्णखोप सुनिश्चित घोषणा गरिएको हो ।

पालिकाका स्वास्थ्य संयोजक विनोद बुढाले गाउँँपालिकाका छवटै वडा पूर्णखोप सुनिश्चित घोषित भएकाले आज एक औपचारिक कार्यक्रम आयोजना गरी पूर्णखोप सुनिश्चित पालिका घोषणा गरिएको जानकारी दिए । गाउँपालिकाका सातवटा खोप केन्द्रमार्फत खोप दिइरहेकाले सबै खोप केन्द्र हुँदै दुईवटा स्वास्थ्य चौकी र त्यसपश्चात् छवटै वडा घोषणा गरिसकेपश्चात् पूर्णखोप घोषणा गरेको हो ।

अनुगमनका क्रममा लौठी स्वास्थ्य चौकीअन्तर्गत पर्ने लमहीपाल्स खोप केन्द्रमा एक सय २९, हिमालचुली खोप केन्द्रमा ९४ र बारीगाउँ खोप केन्द्रमा एक सय २४ बालबालिका भएकामा सबैले खोप पाएको स्वास्थ्य चौकी प्रमुख नवीन भण्डाराले बताए ।

यसैगरी, श्रीनगर स्वास्थ्य चौकीअन्तर्गत पर्ने कल्खे मकै खोप केन्द्रमा ७८, लौठी विगोठी खोप केन्द्रमा ९६, श्रीनगर खोप केन्द्रमा एक सय ६२ र अन्य छुटपुट दौमुखलगायतका क्षेत्रका ५८ जना गरी जम्मा तीन सय ९४ जना बालबालिका सबैले खोप पाएको श्रीनगर स्वास्थ्य चौकीका निमित्त प्रमुख प्रयोगलाल जैसीले बताए ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *