३५ दिनमा सकियो जनै हराएको बाहुन
काठमाडौं । फिल्म ‘जनै हराएको बाहुनः सम्बन्धका धागाहरू’को छायांकन सकिएको छ । निर्माणपक्षले सोमबार ललितपुरको च्यासलस्थित एक पार्टी प्यालेसमा भव्य इन्डक्ल्याप पार्टीको आयोजना गर्दै ३५ दिनमा छायांकन सम्पन्न भएको जानकारी गराएको हो ।
निर्माणपक्षले उक्त इन्डक्ल्याप पार्टीमा फिल्मको सम्पूर्ण छायांकन ३५ दिनमा सम्पन्न भएको जानकारी गराएको छ ।
फिल्म छायांकन काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेमा भएको निर्माणपक्षले जानकारी दिएको छ । ‘फिल्म अपेक्षा गरेअनुसार नै राम्रोसँग छायांकन गरिएको छ,’ निर्देशक हिमाल न्यौपानेले भने, ‘अब पोस्ट प्रोडक्सनमा पनि हामी मेहनत गरेर दर्शकलाई राम्रो फिल्म दिनेछौँ ।’
फिल्मले गाउँदेखि सहर आएका एक सरल व्यक्तिले भोग्नुपरेका अनपेक्षित परिस्थिति र त्यसले उनको जीवनमा ल्याएको परिवर्तनलाई केन्द्रमा राखेको छ । फिल्मले आमा र छोराबीचको भावनात्मक कथा भन्नेछ ।
फिल्मको असोसियट निर्देशक ‘प्रेमगीत ३’ अभिनेता मनिष राउत छन् ।
फिल्ममा अभिनेता विजय बराल, अभिनेत्री केकी अधिकारी, मिरुना मगर, गौरव पहाडी, सुशांक मैनाली, भोलाराज सापकोटा, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापालगायतको अभिनय छ ।
पेपरक्लिप प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन् । सह–निर्मातामा आरके मानन्धर, रुपेश लामा, सिआर बस्नेत र फिलिप डिसी रहेका छन् ।
फिल्मको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका छन् । दिनेशबहादुर राउत मुख्य सहायक निर्देशक रहेको फिल्ममा तर्कराज न्यौपाने, रविन्द्र नेपाल, मोनिका थापा र आकाश केसी सहायक निर्देशक रहेका छन् ।
फिल्ममा प्रशान्त शिवाकोटी, एसडी योगी, थानेश्वर गौतम र अर्जुन पोखरेलको संगीत रहने छ । नवीन गुरुङ डीओपी रहेको फिल्ममा कृष्ण परियारको छायांकन छ । फिल्म तिजको अवसर पारेर भदौमा प्रदर्शन गर्ने योजना भए पनि अझै मिति तय भइसकेको छैन ।
Facebook Comment