डाँडापारिको विकासका लागि एमाले उम्मेदवार अमित लामाको प्रतिबद्धता
काठमाडौं । डाँडापारि क्षेत्रको समग्र विकास, रोजगारी सिर्जना तथा जनमुखी नेतृत्वको प्रतिबद्धतासहित काभ्रे प्रतिनिधि सभा क्षेत्र नं. १ का नेकपा (एमाले) उम्मेदवार अमित लामाले मतदाता भेटघाट कार्यक्रमलाई तीव्रता दिएका छन्।
भेटघाट कार्यक्रममा बोल्दै उम्मेदवार लामाले आफू कुनै पद, पैसा वा व्यक्तिगत स्वार्थका लागि नभई जनताको विश्वास जित्नका लागि चुनावी मैदानमा उत्रिएको स्पष्ट पारे। ‘म बाहिरबाट आएको मान्छे होइन, यही माटोमा हुर्किएको, यही समाजसँग दुःख–सुख बाँडेको तपाईंहरूमध्ये एक हुँ,’ उनले भने।
उनले डाँडापारि क्षेत्रले भोग्दै आएको पीडा आफूले नजिकबाट देखेको र यहाँ लुकेको सम्भावनालाई पनि राम्ररी चिनेको उल्लेख गरे। ‘यहाँ अभाव छन्, तर क्षमता अझ ठूलो छ। समस्या छन्, तर समाधान सम्भव छन्,’ भन्दै उनले योजनाबद्ध विकास मार्फत परिवर्तन सम्भव रहेको धारणा राखे।

उम्मेदवार लामाले खाली वाचा होइन, काम गर्ने इमान, नतिजा देखाउने इच्छाशक्ति र जवाफदेही नेतृत्व लिएर जनतामाझ आएको बताए। सुखमा साथ दिने र दुःखमा काँध थाप्ने प्रतिनिधि बन्ने उनको प्रतिबद्धता थियो ।
कार्यक्रममा उनले एमालेको सूर्य चिन्हलाई आशा, उज्यालो र समृद्धिको प्रतीकका रूपमा उल्लेख गर्दै विकास, शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधारका लागि सूर्य चिन्हमा मतदान गर्न स्थानीयवासीसँग आग्रह गरे ।
स्थानीयवासीहरूसँग प्रत्यक्ष संवाद गर्दै अघि बढाइएको घरदैलो कार्यक्रमले काभ्रे–१ क्षेत्रमा चुनावी माहोललाई थप सक्रिय बनाएको छ।


Facebook Comment