ओलीको निर्वाचन परिचालन कमाण्डर बने देवेन्द्र दाहाल

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन परिचालनको संयोजक देवेन्द्र दाहाल र सहसंयोजक दिपक कार्की र मेनुका काफ्लेलाई तोकिएको छ ।

गौरादहमा आज बसेका निर्वाचन क्षेत्र नं ५ समन्वय कमिटीको आजको बैठकले ५ सय १ सदस्यीय निर्वाचन परिचालन समिती गठन गरेको केन्द्रीय सदस्य दिपक कार्कीले जानकारी दिए ।

कार्कीका अनुसार परिचालन कमिटी मातहत रहने गरी ९ वटा उपसमिती गठन गरिएको छ । कमिटीमा निर्वाचन क्षेत्रमा घर भएका केन्द्रीय कमिटी सदस्य, केन्द्रीय आयोग, केन्द्रीय विभाग (वर्तमान र निर्वतमान) हरुलाई जिम्मेवारी दिएको छ । कमिटीमा प्रदेश कमिटी सदस्य, प्रदेश लेखा कमिटी, विभाग र सल्लाहकारहरुलाई पनि परिचालन कमिटीमा समेटिएको छ ।

यसैगरी जिल्ला कमिटीका पदाधिकारी,विभागीय सदस्य,सल्लाहकार परिषदका सदस्यहरु पनि निर्वाचन परिचालन कमिटीमा छन् । यसैगरी स्थानीय र प्रदेशका निर्वाचित जनप्रतिनिधी पनि कमिटीमा रहेका छन् । यसैगरी जनसंगठनका केन्द्रीय, प्रदेशका पालिका कमिटीका पदाधिकारी र सदस्य पनि परिचालन कमिटीमा रहेका छन् । यसैगरी क्षेत्रीय समन्वय,प्रदेश समन्वय कमिटीहरु पनि निर्वाचन परिचालनमा केन्द्रित हुनेछन् ।

संयोजक दाहाल पार्टीको पोलिटव्यूरो सदस्य र पूर्वमन्त्री हुन् । उनी २०४८ सालदेखि ओलीको चुनाव कमाण्डरका रुपमा छ्न । सहसंयोजक कार्की एमाले केन्द्रीय सदस्य हन् । संविधान सभाका दुवै निर्वाचनमा तत्कालिन झापा क्षेत्र नं ६ मा कार्की विजयी कार्की २०५४–०५९ सालमा गौरादह गाविसको अध्यक्ष हुन् । अर्की सहसंयोजक काफ्ले पार्टी केन्द्रीय सदस्य एवं अनेम संघकी केन्द्रीय उपाध्यक्ष हुन् । उनी कमल गाउँपालिकाकी निवर्तमान अध्यक्ष हुन् ।

‘हाम्रा चुनावी कमाण्डर र सह कमाण्डर विगतमा निर्वाचन रणनीति बनाउने र त्यसको सफल कार्यन्वयन गर्ने नेता हुनुहुन्छ’ पार्टीका क्षेत्रीय संयोजक एवं परिचालन कमिटीका सचिव नारायण गौतमले भने ‘उहाँहरुको नेतृत्वमा पार्टीका सबै कमिटी,कार्यकर्ताहरु परिचालन हुन्छन् । अध्यक्ष केपी शर्मा ओलीलाई जिताउन हामी सबै मतदाता केन्द्रीत कार्यक्रम लिएर घरैघरै जान्छौं ।’

निर्वाचन परिचालनका लागि ६९ सदस्यीय सचिवालय गठन गरिएको छ । गौतमका अनुसार वडा तथा टोलसम्मका प्रचार समिती आगामी माघ १२ गतेसम्ममा गठन गरिसक्ने निर्णय गरिएको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *