झापामा युथ भोलिन्टियर फोर्स घोषणा

बिर्तामोड । झापामा युथ भोलिन्टियर फोर्स घोषणा गरिएको छ । झापा बिर्तामोडका विकास गिरीको नेतृत्वमा ६२ सदस्यीय फोर्स घोषणा गरिएको हो ।

नेकपा एमाले झापाको जिल्ला पार्टी कार्यालय बिर्तामोडमा आज युथ भोलिन्टियर फोर्सका केन्द्रीय कमान्डर पुष्पराज श्रेष्ठले झापाको जिल्ला फोर्स घोषणा गरेका हुन् ।

युथ भोलिन्टियर फोर्स झापाको जिल्ला कमाण्डरमा विकास गिरी, सहायक कमाण्डरहरुमा भानु सुब्बा र बाबु लिम्बुसहितको जिल्ला फोर्स घोषणा गरिएको हो । युथ भोलिन्टियर फोर्सले पहिलो जिल्ला नेतृत्व घोषणा गरेको हो । युथ भोलिन्टियर फोर्सका केन्द्रीय कमाण्डर श्रेष्ठले उनीहरुलाई सपथग्रहण गराएका छन् ।

युथ भोलिन्टियर फोर्स झापा घोषणा कार्यक्रमका प्रमुख अतिथि श्रेष्ठले नेपाली जनताको सुरक्षाका लागि देशभर संगठन विस्तार गर्ने जानकारी दिए । उनले झापामा पहिलो पटक जिल्ला फोर्स घोषणा गरेको बताउँदै देशभित्र भइरहेका विदेशी चलखेल विरुद्ध युवाहरु एक हुन आह्वान गरेका छन् । प्रमुख अतिथि श्रेष्ठले देश जलाउने र बनाउनेबीचको भिन्नता छुट्टाएर अघि बढ्न युवाहरुलाई सुझाव दिए ।

नेकपा एमालेलाई देशको निर्णायक राष्ट्रिय शक्ति निर्माण गर्न निर्वाचनमा बहुमत ल्याउने उनको धारणा थियो । विदेशी चलखेलबाट देशको रक्षाका लागि युथ भोलिन्टियर फोर्स सतिसाल झै उभिने बताए ।

घोषणा कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य झापा संयोजक रोमनाथ ओली, युथ भोलिन्टियर फोर्सका केन्द्रीय सदस्य राजकुमार थापा, एमाले झापाका उपाध्यक्ष शिव ढुङगेल लगायतले मन्तव्य राखेका थिए ।

युथ भोलिन्टियर फोर्स जिल्लाको टोलटोलमा सुरक्षा दस्ताका रुपमा गठन गर्दै जाने झापाका कमाण्डर विकास गिरीले जानकारी दिए ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *