कान्स फिल्म फेस्टिभलमा एक्लो

काठमाडौँ। विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलको ७२ औं संस्करण आगामी मंगलबारदेखि सुरु हुँदैछ । फ्रान्सको दक्षिणपूर्वी फ्रेन्च रिभिएरा क्षेत्रको कान्स सहरमा १३ देखि २४ मे सम्म महोत्सव आयोजना हुनेछ ।

यसवर्षको कान्समा केही खास आकर्षण हुनेछन् । विश्वचर्चित हलिउड फिल्म ‘मिसन इम्पोसिबल’को अन्तिम श्रृंखला ‘डेड रोकोनिङ’को वर्ल्ड प्रिमियरमा सहभागी हुन टम क्रूज रेडकार्पेटमा सहभागी हुनेछन् ।
महोत्सव फ्रान्सेली कमेडी फिल्म ‘लिभ वान डे’को ओपनिङ सँगै सुरु हुनेछ । फ्रान्सेली अभिनेत्री जुलिएट बिनोचेले मुख्य प्रतिस्पर्धा विधामा जजको भूमिका निर्वाह गर्नेछिन् । अभिनेता रोबर्ट डी निरोले मानार्थ पाम डी’ओर प्राप्त गर्ने छन् ।

प्रतिस्पर्धामा छनोट नभएपनि कान्स फिल्म फेस्टिभल २०२५ का विभिन्न कार्यक्रममा नेपाली फिल्म ‘एक्लो’ सहभागी हुँदैछ । ‘मार्चे दु फिल्म’ भनिने कान्स मार्केटमा सम्भवतः पहिलोपटक नेपाली फिल्मले स्टल नै खडा गरेर फिल्मलाई अन्तर्राष्ट्रिय वितरक, सेल्स एजेन्ट र निर्माताबीच ‘पिचिङ’ गर्न लागेको हो ।

मे १३ देखि २१ सम्म हुने कान्स मार्केटमा ‘एक्लो’का निर्माताहरू रितेश राना, संगीता श्रेष्ठ, भाइराजा थापा, राजु गुरुङ, उत्सव विष्ट कान्स मार्केटमा सहभागी हुनेछन् । फिल्मकी कोपरेटिभ डिरेक्टर रिश्ता कार्की बजारीकरण प्रमुखको रुपमा सहभागी हुनेछिन् । निर्माताले महंगो पैसा तिरेरै कान्स मार्केटमा स्टल राख्दैछन् ।

स्टलमा नेपालको झण्डा राख्ने तयारी छ । निर्देशक प्रदीप शाही स्वयम प्रोड्युर्स नेटवर्कमा सहभागी हुँदैछन् । उनी तयारीको लागि आइतबार पेरिस पुगेका छन् । ‘हामीले यसवर्षको कान्समार्फत नेपाल र एक्लोलाई कनेक्ट गर्न खोजेका छौं’ निर्देशक शाहीले बताए ।

कान्स सुरु हुनुअघि नै फिल्मबारे ७ अन्तर्राष्ट्रिय वितरकले फिल्मबारे रुचि राखेको शाहीले बताए । उनका अनुसार, वेबसाइटमा जानकारी हेरेर ४ अमेरिकी, २ जापानी र एक भारतीय वितरण कम्पनीले प्रस्ताव राखेका छन् ।

कान्स मार्केटमा ‘एक्लो’ले अन्तर्राष्ट्रिय वितरक, सेल्स एजेन्ट, मेकर र ओटीटीमाझ फिल्म प्रवर्धन गर्नेछ । नेपालको छायांकन गन्तव्यबारे प्रचारप्रसार गर्ने, सम्भावित को–प्रोडक्सनबारे मार्केटमा ‘एक्लो’का निर्माताले पहल गर्नेछन् ।

निर्देशक शाही कान्स प्रोड्युसर्स नेटवर्कमा छनोट भएको खबर यसअघि आइसकेको छ । ‘हामीले नेपाल र एक्लोलाई कनेक्ट गर्न खोजेका छौं । मार्केटमा स्टल राख्न खोजेको पहिलोपटक नेपाली फिल्म हो ।
प्रड्युसर्स नेटवर्कमा आफूले विश्व फिल्म निकायका प्रतिनिधि, निर्मातासँग भेट्नेदेखि लिएर ‘एक्लो’लाई पिच गर्ने आफ्नो तयारी रहेको उनले बताए । ‘कान्स मार्केट हाम्रो फिल्म एक्लोमा मात्र सीमित हुनेछैन । भविष्यमा हुनसक्ने सहकार्य र को–प्रोडक्सनको कुरा पनि हुन्छ’ उनले भने ।

शाही र ‘एक्लो’का केही कलाकार रेडकार्पेट र कुनै एक फिल्मको प्रिमियरमा पनि सहभागी हुने तयारीमा छन् । यद्यपि, यसबारे निधो हुन बाँकी छ ।

कान्स मार्केटमा १४० देशका १४,००० भन्दा बढी सहभागी हुने जनाइएको छ । जहाँ, १,५०० फिल्मको प्रदर्शन र ४,००० प्रोजेक्ट पिच हुनेछन् । यो तथ्यांक हेर्दा पनि कान्स मार्केट विश्व फिल्म बजारको लागि महत्वपूर्ण हुने देखिन्छ ।

निर्देशक शाहीले यसवर्षको कान्समा ‘एक्लो’को सहभागितामार्फत आफूले नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय तहमा लैजान चाहेको बताए ।

‘हामी अहिले पनि नेपाली थिएटर र एपमा मात्र सीमित छौं । सबटाइटल र एआईले डबिङ गर्ने जमानामा हो यो’ उनले भने, ‘हामीले एक्लोमार्फत साइन्स फिक्सन कथालाई हिन्दू संस्कार र संस्कृतिसँग जोड्न खोजेका छौं । पपुलर कल्चरमार्फत संस्कृतिलाई झल्काउन चाहन्छौं ।’

नेपाली फिल्ममा विदेशी लगानी भित्राउने, नेपाललाई सुटिङको हब बनाएर अन्तर्राष्ट्रियरुपमा हाम्रा लोकेसनको प्रचार गर्ने, संस्कृतिसँग फिल्म जोड्ने आफ्नो उद्देश्य रहेको उनले बताए ।

अहिलेसम्म हामीले कल्चर विदेशमा देखाउन सकेका छैनौं । कि त बलिउड भर्सनको आउँछ, कि साउथको प्याट्रन आउँछ, कि नेपाली फिल्मले दुःख र गरिबी मात्र देखाउँछ । यो पर्सपेक्टिभलाई चेन्ज गर्नुपर्छ’ उनले भने ।

यो ‘साइन्स फिक्सन’ फिल्ममा प्रदीप खड्का, विजय लामा, सुनिल थापा, दीया पुन, बेनिशा हमाल, दिनेश डीसी, कविता नेपाली लगायतको अभिनय छ । बेलायती कलाकार जेमी बेकन पनि महत्वपूर्ण रोलमा छन् ।

फिल्मले खतरनाक भाइरसले सन् २०३० सम्म मानिसले पृथ्वी ग्रह छाड्ने भविष्यको एक काल्पनिक कथा भन्छ । त्यसको ६० वर्षपछि बेलायती अन्तरीक्षयात्री ज्याक (बेकन) आफ्ना साझेदारसँग हिमालय क्षेत्रमा क्रास ल्यान्डिङ गर्छन् ।

तिनीहरूले आफ्नो वरपरको खोजी गर्छन् र पहाड बीचमा रहेको गुफाभित्र लुकेको शहर पत्ता लगाउँछन्, जहाँ तिनीहरूले एक रहस्यमय व्यक्तित्व (प्रदीप खड्का) लाई भेट्छन्, जो हिमालय क्षेत्रको पौराणिक संरक्षक हो । यसअघि ‘अन्तिम संस्कार’ र ‘गुर्खाः विनिथ द ब्रेभरी’ निर्देशन गरेका शाहीको यो तेस्रो निर्देशकीय प्रोजेक्ट हो।

फिल्ममा प्रदीप खड्का, बेनिशा हमाल, विजय लामा, सुनील थापा, दिया पुन, दिनेश डिसी, सुरज सिंह ठकुरी, एवन राज उप्रेति, कविता नेपाली , त्रीचु राई , कृष्णभक्त महर्जनलगायत कलाकारको अभिनय छ।
विज्ञान कथामा आधारित फिल्म ‘एक्लो’लाई आउँदो तिहारमा नेपालका हलमा प्रदर्शन लक्ष्य छ । निर्देशक शाहीका अनुसार भीएफएक्ससहित फिल्मको बजेट ६ करोड नेरु पुगेको छ ।

फिल्म ‘एक्लो’ का निर्माता राज कुमार गुरुङ, हरि श्रेष्ठ, विष्णु तामाङ, उत्सव विष्ट, भाइराजा थापा, नवीन सिवा, बागवीर पुन हुन् भने कार्यकारी निर्माता विनोद सुवेदी ‘क्षितिज’ रहेका छन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *