आगामी निर्वाचनमा भोट हाल्नेको संख्या एक करोड ९६ लाखभन्दा बढी

काठमाडौं । निर्वाचन आयोग, नेपालले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि अन्तिम मतदाता नामावली सार्वजनिक गरेको छ। आयोगले मतदाता नामावली ऐन, २०७३ तथा अद्यावधिक कार्यविधि, २०७९ अनुसार प्रक्रिया पूरा गरी अन्तिम नामावली प्रकाशन गरेको हो।
आयोगका अनुसार २०८२ फागुन २९ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि तयार पारिएको अन्तिम मतदाता नामावलीमा फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा गरेका नागरिकको विवरण समावेश गरिएको छ।

प्रकाशित अन्तिम मतदाता नामावलीमा पुरुष ९६ लाख ६३ हजार ३५८, महिला ९२ लाख ४० हजार ९३९ र अन्य २०० गरी एक करोड ९६ लाख चार हजार ४९७ मतदाता समावेश भएका छन्।

आयोगले सम्बन्धित मतदाताले आफ्नो नाम मतदाता नामावलीमा समावेश भए/नभएको आयोगको वेबसाइट www.election.gov.np मार्फत समेत हेर्न सक्ने जनाएको छ।

निर्वाचन आयोगका अनुसार २०७९ मा सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा कुल मतदाताको संख्या १ करोड ७८ लाख ८५ हजार ४७० थियो। त्यसको तुलनामा २०८२ मा कुल मतदाता संख्या १ लाख १५ हजार १९१ ले वृद्धि भएको छ। यसमध्ये पुरुष मतदाता ५२ हजार ५५२, महिला मतदाता ३२ हजार ४५२ र अन्य मतदाता १५ ले बढेका छन्।

त्यसैगरी, प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि देशभर १० हजार ६७७ मतदान स्थल र २३ हजार ९९१ मतदान केन्द्र निर्धारण गरिएको आयोगले जनाएको छ। यो संख्या २०७९ सालको निर्वाचनको तुलनामा मतदान स्थल ५५ ले र मतदान केन्द्र ८४ ले बढेको हो।
निर्वाचन आयोगले सबै मतदातालाई नामावलीमा आफ्नो विवरण जाँच गर्न तथा निर्वाचनमा सक्रिय सहभागिता जनाउन आग्रह गरेको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *