पर्दाबाट टाढिए पनि मोहक उपस्थितिमा उस्तै करिष्मा मानन्धर

काठमाडौं । नेपाली चलचित्र इतिहासमा केही यस्ता अनुहार छन्, जसलाई समयले ओझेल पार्न सक्दैन । तीमध्ये एक नाम हो—करिष्मा मानन्धर । वास्तविक नाम सूर्यकुमारी भए पनि दर्शकका मन–मस्तिष्कमा उनी करिष्मा भएरै बसेकी छन् । नाम जस्तै उनको व्यक्तित्व पनि अलग, प्रभावशाली र सम्झनालायक छ ।

९० को दशकमा नेपाली सिनेमा हेर्ने दर्शकका लागि हिरोइनको पर्याय नै करिष्मा थिइन् । सन्तुलित अनुहार, सहज मुस्कान र पर्दामा देखिने आत्मविश्वासले उनलाई स्टारडमको उचाइमा पुर्‍यायो । धेरैका लागि उनी केवल अभिनेत्री होइनन्, सौन्दर्य र ग्ल्यामरको मापदण्ड थिइन् ।

समय बितेको छ । चलचित्रमा उनको सक्रियता पातलो भइसकेको छ । तर उमेरले ५० वर्ष पार गरिसक्दा पनि उनको व्यक्तित्वमा कुनै थकान देखिँदैन । आज पनि उनी सार्वजनिक कार्यक्रममा देखिँदा आकर्षणको केन्द्र बन्छिन् । अनुहारको तेज, हाउभाउको आत्मविश्वास र फेसनप्रतिको सजगताले उनलाई समकालीन पुस्तासँग पनि जोडेर राखेको छ ।

करियरको पछिल्लो चरणमा करिष्माले राजनीति रोजिन् । विभिन्न राजनीतिक गतिविधिमा उनको सक्रियता देखियो । तर अभिनयजस्तै राजनीतिमा उनले आफूलाई स्थापित गर्न सकिनन् । त्यसबीचमा भने उनले शिक्षा क्षेत्रलाई प्राथमिकता दिँदै अधुरो अध्ययन पूरा गरिन् । पर्दाबाट टाढा रहँदा पनि उनी चर्चाबाट भने टाढा भइनन् ।

किशोरावस्थामै ‘सन्तान’ चलचित्रबाट अभिनय थालेकी करिष्माले मायालु, कस्तुरी, सपना, अरुणिमा, तपस्या, ट्रक ड्राइभर, साथी, यो मायाको सागरजस्ता सफल चलचित्रमार्फत आफ्नो पहिचान बनाइन् । अभिनयसँगै निर्माणमा पनि हात हालेकी उनी पछिल्लो चलचित्र असफल भएपछि केही समय अमेरिका बसिन् ।

विदेश बसाइपछि नेपाल फर्किएर फेरि फिल्म र राजनीतिमा हात हालेकी करिष्माले अपेक्षित सफलता नपाए पनि जीवनप्रतिको लय गुमाइनन् । उतार–चढावबीच पनि उनी आफूलाई सन्तुलित राख्न सफल भइन् ।

आज करिष्मा पर्दामा कम देखिन्छिन् । तर नेपाली चलचित्रको स्मृतिमा उनी अझै जीवित छिन् । सुन्दरता, आत्मविश्वास र आफ्नै ढंगको उपस्थितिले उनी आज पनि उस्तै करिष्मा बोकेर हिँडिरहेकी छन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *