सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
काठमाडौं । म्याग्दीको बेनी नगरपालिका–३, मरेककी एकल महिला कर्णकुमारी पुर्जा पुनले गत वर्षको सुन्तला बेचेर थाल्नुभएको पक्की घर निर्माण यस वर्षको सुन्तला बिक्रीसँगै सम्पन्न हुँदैछ ।
उमेरले ७२ वर्ष पुग्नुभएकी कर्णकुमारीले गत वर्ष सुन्तला बेचेर कमाएको रु १५ लाखसहित आफूसँग बचत रहेको केही रकम खर्चिएर बनाउँदै गरेको ढलान घरमा रङरोगन भइरहेको छ । यस वर्ष उनको बारीमा रु १० लाखभन्दा बढीको सुन्तला फलेको छ । कर्णकुमारीले फलाएको सुन्तलाको दुई वर्षको कमाइबाट घर ठडिन्छ । सुन्तलाबाट पर्याप्त आम्दानी हुन थालेपछि उनको पहिलो रोजाइमा घर निर्माण परेको हो । यसअघि उनको कच्ची घर जिर्ण अवस्थामा रहेको थियो ।
श्रीमानको निधनपछि जोत्ने हलगोरू र काम गर्ने खेताला खोज्न झन्झट लागेर सुन्तलाखेती गरेकी कर्णकुमारीको बगैचा अहिले पहेँलपुर छ । मकै, कोदो, गहुँजस्ता परम्परागत खेतीबाली लगाउन छाडेर करिब २० वर्ष अगाडि सुन्तलाका केही थान बिरूवा ल्याएर खेती थालेकी कर्णकुमारीले पहिलो उत्पादन बेचेर रु एक हजार ६०० कमाएकी थिईन् । सुन्तलाबाट रु एक सय, रु एक हजार हुदै रु १५ लाखसम्म बुझाएकी छन् । अहिले कर्णकुमारीको १० रोपनी क्षेत्रफलमा सुन्तला बगैँचा फैलिएको छ ।
कुनै वर्ष रोगले सुन्तला सखाप हुँदा निराश भए पनि हरेस नखाएकी कर्णकुमारीको दैनिकी सुन्तला बगैँचामै बित्ने गरेको छ । ‘आफ्ना सन्ततिलाई जस्तै गरी सुन्तलाको बोटलाई स्याहार गर्छु, मलाई खुसी दिने यही सुन्तलाका बोट बनेका छन्, बूढेसकालमा पनि मेरो दैनिकी सुन्तलासँगै चलेको छ’, उनले भनीन् । गत वर्षको तुलनामा कम फले पनि उत्पादनबाट सन्तुष्ट रहेको कर्णकुमारी बताईन् ।
रोजगारीको सिलसिलामा अफगानिस्तान पुगेका श्रीमानको २०६७ सालमा आतङ्ककारीको आक्रमणबाट निधन भएपछि घर व्यवहार धान्न हम्मेहम्मे परेको कर्णकुमारीले बताईन् । सुन्तलाले दैनिकी सहज बनाएको उनको भनाइ छ । सुन्तलाको कमाइले छोरीहरूको शिक्षादीक्षा, विवाह लगायतका घरायसी खर्चसँगै बचतसमेत गरेको कर्णकुमारीले बताईन् ।
‘आफ्नो संसार उजाडिएपछि मलाई बाँच्न सुन्तलाले सिकाएको छ, सुन्तलाले आर्थिक रुपमा बलियो बनाएको छ’, कर्णकुमारीले भनीन् ।
सुन्तलाखेती बूढेसकालको सहारा बनेको छ । घरखर्च चलाउन श्रीमान्, सन्तानमाथि निर्भर हुनुपर्ने अवस्थाको अन्त्य गर्न फलफूल र तरकारीखेती गरे पुग्ने कर्णकुमारीको सुझाव छ । उनी मरेक गाउँमा सबैभन्दा धेरै सुन्तला फलाउने कृषकको रुपमा चीनीनछीन् । सुन्तला खरिदका लागि आएका व्यापारीले समेत कर्णकुमारीको बगैँचालाई पहिलो रोजाइमा पार्ने गर्दछन् ।


Facebook Comment