राजनीतिक दलको धारणा बुझ्दै नागरिक बचाउ दल, भोलि बानेश्वारमा छलफल हुँदै
काठमाडौं । दुर्गा प्रसाईंको संरक्षकत्वमा रहेको नागरिक बचाउ दल नेपालले देशको समग्र अवस्थाबारे राजनीतिक दलसँग छलफल गर्ने भएको छ ।
फागुन २१ लाई घोषणा गरिएको प्रतिनिधि सभा निर्वाचन, देशको वर्तमान अवस्था, नेपालको निर्वाचन प्रणालीलगायतलाई लक्षित गर्दै पार्टीको अवधारणा आदानप्रदान गर्न छलफल कार्यक्रम आयोजना गरेको पार्टी अध्यक्ष माधव कल्पितले जानकारी दिए ।
जेन जी आन्दोलनपछि गठित अन्तरिम सरकारले घोषणा गरेको प्रतिनिधि सभा निर्वाचनको सन्दर्भमा नागरिक बचाउ दल नेपालले आफ्ना राजनीतिक एजेन्डा र भावी कार्यदिशाबारे स्पष्ट पार्ने उद्देश्यले छलफल गर्ने कल्पितले बताए ।
छलफलमा सहभागिताका लागि सबैलाई पत्राचार गरिएको बताउँदै उनले कार्यक्रम नागरिक बचाउ महाअभियानका केन्द्रीय अध्यक्ष दुर्गा प्रसाईंको प्रमुख आतिथ्यमा सञ्चालन हुने बताए ।
नागरिक बचाउ दल नेपालका अनुसार छलफल कार्यक्रममा विभिन्न राजनीतिक दलका अध्यक्ष तथा प्रतिनिधिहरूलाई आफ्नो दलको आधिकारिक अवधारणा प्रस्तुत गर्न आमन्त्रण गरिएको छ। लोकतान्त्रिक अभ्यासलाई सुदृढ बनाउने र नागरिक सरोकारका विषयमा साझा धारणा निर्माण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको पार्टी अध्यक्ष कल्पितले बताए ।
छलफल पुस ६ गते दिउँसो साढे तीन बजेदेखि काठमाडौंको बानेश्वरस्थित होटल एभरेष्टमा आयोजना हुनेछ।


Facebook Comment