कास्कीबाट एमालेको पदाधिकारी बन्ने पहिलो नेता बने अधिकारी
कास्की । नेकपा एमालेको केन्द्रीय पदाधिकारी बन्ने खगराज अधिकारी कास्की जिल्लाबाट पहिलो नेता बनेका छन्। बिहीबार सम्पन्न नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनबाट सचिव पदमा निर्वाचित भएसँगै उनले पार्टीको केन्द्रीय नेतृत्व तहमा पुग्ने कास्कीको पहिलो नेताको इतिहास कायम गरेका हुन्।
बिहीबार सम्पन्न मतगणनामा अधिकारीले १ हजार २ सय ३१ मत प्राप्त गर्दै सचिव पदमा निर्वाचित भएका हुन्। कास्की क्षेत्र नम्बर ३ (ख) बाट निर्वाचित उनी हाल गण्डकी प्रदेश सभामा नेकपा एमाले संसदीय दलका नेता छन्।
पूर्व गृहमन्त्रीसमेत रहेका अधिकारी गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री पनि हुन्। यसअघि केन्द्रीय सदस्यको जिम्मेवारी सम्हालेका उनी संगठन विभाग प्रमुखका रूपमा समेत कार्यरत रहिसकेका छन्।
यसअघि कास्की जिल्लाबाट नेकपा एमालेको केन्द्रीय पदाधिकारी बन्ने अवसर कसैलाई पनि प्राप्त भएको थिएन। खगराज अधिकारीको सचिव पदमा निर्वाचितिले कास्कीका लागि नयाँ राजनीतिक इतिहास कोरेको छ।


Facebook Comment