१४औँ कपिलवस्तु डान्स आइडलको ताज सम्बृद्धिलाई
काठमाडौं । १४औँ कपिलवस्तु डान्स आइडलको ताज सम्बृद्धि पन्तले पहिरिएकी छन्। कपिलवस्तुको बाणगंगा नगरपालिकास्थित बुद्ध रंगशालामा सम्पन्न १६औँ कपिलवस्तु महोत्सवको मुख्य आकर्षणका रूपमा रहेको डान्स आइडल प्रतियोगितामा उनले उपाधि जितेकी हुन्।
उपाधिसँगै सम्बृद्धिले चाँदीको टोपीसहित नगद १ लाख ११ हजार १११ रुपैयाँ प्राप्त गरेकी छन्। मंगलबार राति सम्पन्न फाइनल चरणको प्रतिस्पर्धामा उनले अन्य तीन प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि हात पारेकी हुन्।
यसैगरी खुशी थारु, अप्रिता पोखरेल र गीताञ्जली मगरले क्रमशः द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गरेका छन्। उनीहरूले क्रमशः ८१ हजार १८१ रुपैयाँ, ६१ हजार १६१ रुपैयाँ र ३१ हजार १३१ रुपैयाँसहित ट्रफी, मेडल, प्रमाणपत्र तथा आकर्षक उपहार प्राप्त गरेका छन्।
दर्शकको भोटिङ र निर्णायकहरूको मतका आधारमा नतिजा तय गरिएको आयोजक बाणगंगा बेलफेयर सोसाइटीका अध्यक्ष तथा महोत्सव संयोजक राजकुमार खाणले जानकारी दिए। प्रतियोगिताका उत्कृष्ट चार जनाले राष्ट्रियस्तरको म्युजिक भिडियोमा अभिनय गर्ने अवसरसमेत पाउने छन्।
डान्स आइडल प्रतियोगितामा १५ जना प्रतियोगीहरू सहभागी भएका थिए। होराइजन इंग्लिस बोर्डिङ स्कुलमा कक्षा ७ मा अध्ययनरत सम्बृद्धि सोही नगरपालिकाको वडा नम्बर ४, ठकुरापुरकी निवासी हुन्। विद्यालयका प्रिन्सिपल बासुदेव घिमिरेका अनुसार सम्बृद्धि पढाइसँगै अन्य क्रियाकलापमा समेत उत्कृष्ट विद्यार्थी हुन्।
जितपछि खुशी व्यक्त गर्दै सम्बृद्धिले यो सफलता आफ्ना अभिभावक, गुरुहरू र दर्शकहरूको सहयोगका कारण सम्भव भएको बताइन्। उनले अझै मेहनत गरी भविष्यमा अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरिन्।


Facebook Comment