के घर के डेराः घर नं. २ मा ‘इमोसनल’ शैलीकाे प्रयाेग

काठमाडौँ । ‘कर्णाली ब्लूज’, ‘फिरफिरे’, ‘एक्लो’ जस्ता चर्चित उपन्यासका लेखक तथा कवि बुद्धिसागरको कथामा फिल्म निर्माण गरिएको छ । निर्देशक दीपेन्द्रकुमार खनालले उनको कथामा ‘के घर के डेरा घ नं २’ फिल्म निर्माण गरेका हुन् ।

निर्देशक खनालले केही वर्ष अगाडिदेखि बुद्धिसागरलाई फिल्ममा कथाकारका रूपमा ल्याउन प्रयास गरेका थिए । सो प्रयासलाई सार्थकता दिँदै उनको कथामा फिल्म निर्माण गरिएको निर्देशक खनाल बताउँछन् । ‘कथाको मर्म बुझ्ने निर्देशक नपरेमा साहित्यकारको कथाले न्याय पाउँदैन । बुद्धिसागरजीले लेख्नुभएको पटकथामा हरेक जानकारीलाई सुक्ष्म तरिकाले प्रस्तुत गरिएको छ । तर, हामी निर्देशकले एउटा सीमित समय भित्र कथा भनिसक्नुपर्ने हुन्छ । त्यसकारण कथाको मर्म प्रस्तुत हुनेगरी दृश्यमा उतार्ने खुबी निर्देशकमा हुनु जरूरी छ,’ निर्देशक खनाल भन्छन् ।

उनले बुद्धिसागरको पटकथालाई फिल्मको शैलीमा रूपान्तरण गरेर फिल्म कस्तो बन्छ भन्ने बारेमा जानकारी दिएर काम सुरू गरेको बताए । साहित्यकारले लेख्दा सामान्य कथा जस्तो सुन्दर हुन्छ, फिल्ममा त्यस्तै सुन्दर तवरले प्रस्तुति गरिएको निर्देशक खनालको दाबी छ ।

निर्देशक खनालले यस अगाडि ‘के घर के डेरा’ निर्देशन गरेका थिए । उस्तै नाम भए पनि यसपटक कथा र परिवेश फरक रहेको उनले बताए । किनकि ‘के घर के डेरा’ लाई ‘कमेडी’ शैलीमा प्रस्तुत गरिएको थियो भने यसपटक ‘के घर के डेरा घर नं २’ मा ‘इमोसनल’ शैली प्रयोग गरिएको छ ।

‘मैले मनछुने फिल्म तयार गरेजस्तो लागेको छ । किनकी यो घरबेटी, डेरावालसँगै सहरमा हुनेहरूको कथा हो । यसको सुन्दर पक्ष भनेकै फिल्ममा रहेका पात्रहरू एकआपसमा जोडिएका छन् । उनीहरूले काठमाडौँ सहरमा देखिने हरेक वर्गलाई प्रतिनिधित्व गरेको छन् भन्ने लागेको छ’, निर्देशक खनालले भने ।

अभिनेता खगेन्द्र लामिछानेले निर्देशक खनालले झैँ पटकथाको सुन्दरता पात्रहरूको उदयसँगै अवतरण रहेको बताए । आफैँ लेखक भएकाले अभिनेता लामिछाने लेखनका क्रममा आइपर्ने कठिनाइसँग जानकार छन् ।

‘पात्रलाई फिल्ममा जसरी सुरूआत गरिन्छ, त्यसको अन्त्य धेरैलाई मन पर्ने किसिमको बनाउन निकै कठिन हुन्छ । म आफैँ लेखक भएकाले यस फिल्ममा पटकथामा आएका सम्पूर्ण पात्र अर्थपूर्ण हुनुका साथै एकआपसमा जोडिएको छ र ती यत्तिकै हराउँदैनन्’, उनले भने ।

‘पशुपति प्रसाद’ जस्तो फिल्ममा लेखकसँगै अभिनेतासमेत रहेका लामिछानेले ‘अर्गानिक’ भनेर अघोषित रूपमा बुझ्ने गरिएको ग्रामीण परिवेशसम्बन्धी बुझाइमा परिवर्तन ल्याउनुपर्नेमा जोड दिए । नेपालका मौलिक विषय गाउँ मात्र नभई सहरकै पनि ‘अर्गानिक’ हुने उनको बुझाइ छ ।

‘हामीले गाउँका कथालाई मात्र मौलिक वा ‘अर्गानिक’ भनेर सहरका कथालाई नजरअन्दाज गरिरहेका छौँ । हामीले यो सोच बदल्नुपर्छ । किनकी गाउँभन्दा सहरका गरिब दयनीय हुन्छन् । उनीहरूले गाउँ जस्तो सहजै जीविकोपार्जन गर्न सक्दैनन् । त्यसकारण हामीले ‘अर्गानिक’को परिभाषालाई बृहत् बनाउनुपर्छ’, अभिनेता लामिछानेले भने ।

यस फिल्ममा अभिनेत्री केकी अधिकारी डेरावालको भूमिकामा छिन् । अभिनेत्री अधिकारीले पिःल्ममा अन्य पक्षको कथा पनि देख्न पाइने बताइन् । ‘डेरावाल वा घरबेटीको मात्र कथा होइन । फिल्ममा रहेका पात्रहरू कसैको आफ्नै घर छ त, कसैको डेरा छ, कोहीसँग दुवै छैन । त्यसकारण यो कथालाई घरबेटी र डेरावालमार्फत प्रस्तुत गरिए तापनि यो समग्रमा सफलताका लागि मेहनत गरिरहेका सम्पूर्णको कथा हो’, उनले भनिन् ।

फिल्ममा आर्यन सिग्देल, उपासनासिंह ठकुरी, निश्चल बस्नेत, प्रकाश घिमिरेलगायत कलाकारले पनि अभिनय गरेका छन् । यो फिल्म आगामी जेठ २ गते रिलिज हुँदैछ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *