नवनियुक्त चार मन्त्रीले लिए शपथ, कसले कुन मन्त्रालय पाए ?

काठमाडौं । राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहमा नवनियुक्त चार मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा नियुक्त भएका मन्त्रीहरूलाई शपथ गराएका हुन्।

प्रधानमन्त्रीको सिफारिसपछि उनीहरूलाई आजै मन्त्री नियुक्त गर्दै तत्कालै शपथ ग्रहण सम्पन्न गरिएको हो।

नवनियुक्त मन्त्रीहरूमा श्रद्धा श्रेष्ठ, माधव चौलागाईं, राजेन्द्रसिंह भण्डारी र कुमार इङ्नाम छन्। राष्ट्रपति कार्यालयका अनुसार श्रद्धा श्रेष्ठलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, माधव चौलागाईंलाई वन तथा वातावरण मन्त्रालय, राजेन्द्रसिंह भण्डारीलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, र कुमार इङ्नामलाई भूमि, व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ।

नवनियुक्त मन्त्रीहरू ?

कुमार इङ्नाम/ भूमि, व्यवस्था तथा सहकारी मन्त्री
कुमार इङ्नाम फौजदारी कानुनका वरिष्ठ विज्ञ हुन्। उनी काठमाडौं स्कूल अफ ल’मा २५ वर्षदेखि अध्यापन गर्दै आएका प्राध्यापक हुन्। २०४६ सालमा इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसबाट शिक्षण यात्रा सुरु गरेका इङ्नामका दर्जनौँ पुस्तक, शोधपत्र र अनुसन्धानात्मक लेख प्रकाशित छन्।
नेपालदेखि विदेशका विभिन्न विश्वविद्यालयमा अतिथि प्राध्यापकको रूपमा समेत सक्रिय रहेका उनको प्राज्ञिक पृष्ठभूमिलाई ध्यानमा राख्दै सरकारले उनलाई भूमि मन्त्रालयको जिम्मेवारी दिएको हो।

राजेन्द्रसिंह भण्डारी/श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री
पूर्व एआईजी राजेन्द्रसिंह भण्डारी नेपाल प्रहरीका प्रखर अनुसन्धान अधिकृतका रूपमा चिनिन्छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोका संस्थापक प्रमुखसमेत रहेका उनले पछि प्रहरी अध्ययन प्रतिष्ठानको पनि नेतृत्व गरेका थिए।
अनुसन्धान क्षमताका कारण चर्चित भण्डारीलाई श्रम क्षेत्रमा सुधार र नियमनका चुनौतीसँग जोडिएको मन्त्रालयको जिम्मेवारी दिइएको छ।

माधव चौलागाईं/ वन तथा वातावरण मन्त्री
लेखक तथा अनुसन्धानकर्ता माधव चौलागाईं कर्णाली क्षेत्रका इतिहास, संस्कृति, समाज र विकासमाथि दीर्घ अध्ययन गरेका व्यक्तित्व हुन्।
उनी ‘कर्णाली उत्सव छलफल अभियान’ मार्फत क्षेत्रको पहिचान र विकासका पक्षमा सक्रिय छन्। जनस्वास्थ्य र ग्रामीण विकास विषयमा रुचि राख्ने चौलागाईंलाई वन तथा वातावरण मन्त्रालयको नेतृत्व सुम्पिएको छ।

श्रद्धा श्रेष्ठ/महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री
२४ वर्षदेखि नेपाल पर्यटन बोर्डमा कार्यरत श्रद्धा श्रेष्ठ पर्यटन व्यवस्थापन र दिगो विकासका क्षेत्रमा स्थापित नाम हुन्।
पर्यटन बोर्डकी वरिष्ठ प्रबन्धक र संयुक्त राष्ट्रसंघसँगको संयुक्त ‘दिगो पर्यटन परियोजना’की राष्ट्रिय परियोजना संयोजक रहेकी उनले अमेरिकाको मिसिगन स्टेट युनिभर्सिटीबाट आर्थिक विकासमा अध्ययन गरेकी छिन्।
फुलब्राइट फेलोसमेत रहेकी श्रेष्ठलाई सामाजिक क्षेत्रको महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी दिइएको छ।

नवनियुक्त मन्त्रीहरूको अनुभव र पृष्ठभूमीले सरकारको आगामी काममध्ये अनुसन्धान, प्रशासनिक मजबुती, सामाजिक सुरक्षा, वातावरणीय दिगोपन र महिला–बालबालिकासम्बन्धी नीति कार्यान्वयनमा नयाँ उर्जा थप्ने अपेक्षा गरिएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *