महाधिवेशन उद्घाटनसँगै के के गर्छ एमालेले ?
काठमाडौं । शनिबार (भोलि) उद्घाटन हुने नेकपा (एमाले) को ११ औँ महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको १ सय ८ रोपनी चौरमा निर्माणको काम अन्तिम चरणमा पुगेको हो । मङ्सिर २७ देखि २९ गतेसम्म हुने महाधिवेशनको उद्घाटनसत्र सल्लाघारीमा हुनेभएको हो ।
देशका विभिन्न जिल्लाबाट आएका प्रतिनिधिहरूले उद्घाटनस्थल अवलोकन, तथा पार्टी कार्यालयमा भेटघाट, भिडियो कैद, सामाजिक सञ्जालका सामग्री निर्माणजस्ता गतिविधिमा सक्रिय छन् । महाधिवेशन प्रतिनिधिहरु आजसम्म करिब सबै आइसक्ने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
उद्घाटनस्थल विश्व सम्पदासूचीमा परेको चाँगुनारायण मन्दिरको स्थापत्य झल्किने गरी निर्माण हुँदैछ । भक्तपुरसहित उपत्यकाका ऐतिहासिक–सांस्कृतिक सम्पदाको पहिचानलाई मञ्चमा समेटिने गरी मल्लकालीन शैलीमा मञ्च निर्माण भइरहेको छ । मञ्चको दायाँ बायाँ हिमालको आकृति बनाइँदैगर्दा स्थलमा कार्यकर्ता र स्थानीय नागरिकको भिड लाग्नेगरेको छ ।
मञ्च निर्माणमा खटिएकी नेकपा (एमाले) भक्तपुर जिल्ला उपाध्यक्ष तथा बागमती प्रदेश स्वास्थ्यमन्त्री किरण थापाले रातदिन मञ्च निर्माण, अस्थायी संरचना स्थापनासहितका काम जारी रहने बताइन । उनका अनुसार मञ्चको मुख्य संरचना लगभग तयार भइसकेको छ । करिब ३० वटा अस्थायी शौचालय, प्रवेशद्वार तथा आवश्यक अन्य संरचनाहरू बनाउने काम अन्तिम चरणमा पुगेको छ ।
चाँगुनारायण मन्दिरको आभास दिनेगरी निर्माण भइरहेको मुख्य मञ्च बाहिरबाट हेर्दा नै आकर्षक देखिने र मञ्चबाट उभिएर मन्तव्य दिँदा मन्दिरको सिँढीमै उभिएको अनुभूति हुनेगरी विशेष डिजाइन गरिएको उनले बताइन ।
मञ्चमा नेवारी कला संस्कृति झल्कने दृश्य, प्रतीक तथा सजावटका संरचनाहरू राखिनेछन् । मञ्चको उत्तरतर्फ करिब ३० वटा अस्थायी शौचालय निर्माण भइरहेको छ । त्यस्तै उद्घाटनका दिन झाँकी प्रदर्शन गर्ने गेट, प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरूका लागि छुट्टै प्रवेशद्वार र सर्वसाधारणका लागि पृथक् गेट निर्माण हुँदैछ ।
उद्घाटन समारोहस्थलमा तीन लाख जनासम्म अट्नेगरी तयारी भइरहेको छ । प्रमुख दर्शकस्थलतर्फ २५ हजार कुर्सी राखिने र एमालेसहित विभिन्न दलका शीर्ष नेता, विदेशी कूटनीतिक नियोगका प्रतिनिधिहरू सहभागी हुने व्यवस्था मिलाइने उपाध्यक्ष थापाले बताए ।
मञ्च निर्माणस्थलमा अनुगमन गर्न पुगेका एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले कार्यक्रम भव्य र अनुशासित बनाउन १० हजार नेशनल भोलेन्टियर्स तथा अन्य जनसङ्गठनका स्वयंसेवक परिचालन गरिने जानकारी दिए । उनका अनुसार पोसाकसहितका ५ सय ५० स्वयंसेवक विशेष रूपमा व्यवस्था गरिनेछ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले मङ्सिर २७ गते मध्यान्ह उद्घाटन गर्ने कार्यक्रम रहेकाले पूर्वतर्फबाट जगाती र पश्चिमतर्फबाट गठ्ठाघर हुँदै विशाल र्यालीसहित सहभागीहरू सभास्थलतर्फ जाने व्यवस्थासमेत मिलाइएको उनले बताए ।
यसअघि पार्टी अध्यक्ष ओलीको हस्ताक्षरसहितको निमन्त्रणा पत्र लिएर भक्तपुरको चारै नगरपालिका क्षेत्रमा घरदैलो अभियान सकिएको एमाले भक्तपुर जिल्ला अध्यक्ष बचन देउजाले जानकारी दिए । उनका अनुसार वडाअनुसार कार्यकर्ताहरूले घर–घरमा पुगेर करिब २२ हजार निमन्त्रणापत्र वितरण गरिसकेका छन् ।
आजै विभिन्न स्थानमा ब्यानर, पार्टी झण्डा राखी प्रचार–प्रसार गरिएको र भोलिदेखि माइकिङ सुरु गरिने जानकारी उनले दिए ।
उद्घाटनका दिन भक्तपुरका सबै वडाबाट सांस्कृतिक झाँकीसहितको र्याली प्रदर्शन गरी कार्यक्रमस्थल प्रवेश गर्ने तयारीसमेत समापन भइरहेको देउजाले बताए । भक्तपुरबाट मात्र करिब २५ हजार कार्यकर्ता सहभागी गराउने लक्ष्य राखिएको उनले जानकारी दिए ।


Facebook Comment