‘एकै व्यक्तिले दुई पटकभन्दा बढी पद नपाउने व्यवस्था विधानमै गर्नुपर्छ’ : एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पार्टीभित्र नेतृत्व पुनःव्यवस्थापनका लागि एकै व्यक्तिले दुई पटकभन्दा बढी पद नसम्भाल्ने स्पष्ट व्यवस्था विधानमै गर्नुपर्ने बताएका छन्।
शुक्रबार इतरपक्षले काठमाडौंमा आयोजना गरेको युवा भेलालाई सम्बोधन गर्दै उनले पार्टीमा नेतृत्व पुनरावृत्ति रोक्ने संरचना अब अनिवार्य बनेको बताए ।
उनी भन्छन्,‘हामी नेतृत्व संरचनालाई व्यवस्थित गर्न चाहन्छौं। दुई पटकभन्दा बढी एउटै व्यक्तिले जिम्मेवारी नलिने व्यवस्था विधानमै होस् भनेर लडिरहेका छौं।’
पाण्डेले पूर्वराष्ट्रपति विद्या भण्डारीको पार्टी सदस्यता प्रकरणमा अध्यक्ष केपी शर्मा ओलीले पहिले र अहिले फरक फरक धारणा राखेको भन्दै आपत्ति जनाए।उनको भनाइमा,विद्या भण्डारीले राष्ट्रपति भएका समयमा नै सदस्यता नवीकरण गर्दा ओली स्वयंले ‘राष्ट्रपति भएकी व्यक्तिले सदस्य बन्न मिल्छ’ भनेर तर्क गरेका थिए। तर अहिले आएर उल्टो धारणा राखिनुले नैतिक प्रश्न उठेको उनले टिप्पणी गरे।
पाण्डेले भने,‘एउटै विषयमा एउटै व्यक्तिले दुईवटा धारणा राख्छ भने त्यो नैतिक प्रश्न होइन र? अध्यक्ष कमरेड, आफैंले अगाडि सारेको विचारमै अडिनुस्।’
पाण्डेले पार्टीमा उठिरहेका दुई कार्यकालको सीमा र सदस्यता सम्बन्धी विवादलाई अनावश्यक बखेडा नबनाउन अध्यक्ष ओलीलाई आग्रह गरे।
उनका अनुसार नेतृत्वको स्पष्ट दिशा, आचरणमा एकरूपता र विधानको कडाइ नै एमालेलाई संस्थागत बनाउने प्रमुख आधार हुन्।


Facebook Comment