गोवाको नाइट क्लबमा आगलागी हुँदा चार नेपालीसहित २५ जनाको मृत्यु
काठमाडौं । भारतको गोवा राज्यस्थित अरपोरा क्षेत्रको एक नाइट क्लबमा शनिबार मध्यराति भएको भीषण आगलागीमा चार नेपालीसहित २५ जनाको ज्यान गएको पुष्टि भएको छ । घटनामा ६ जना घाइते भएका छन् भने मृतकमध्ये २० जना क्लबका कर्मचारी रहेको गोवा सरकारले सार्वजनिक गरेको प्रारम्भिक विवरणमा उल्लेख छ ।
गोवा सरकारद्वारा सार्वजनिक गरिएको नामावलीअनुसार आगलागीमा ज्यान गुमाउने नेपाली नागरिकहरूमा चुर्णबहादुर पुन, विवेक कटवाल, सबिन र सुदीप रहेका छन् । उनीहरू नेपालका नागरिक भए पनि हालसम्म ठेगाना खुलेको छैन । मृतकको शव नेपाल पठाउने तयारी भइरहेको गोवा प्रशासनले जनाएको छ ।
भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्स का अनुसार शनिबार मध्यराति नाइट क्लबमा नाचगान चलिरहेका बेला इलेक्ट्रोनिक फायरक्र्याकर प्रयोग गर्दा अचानक आगलागी सुरु भएको थियो । क्लब आसपासका बाटो साँघुरा भएका कारण दमकल समयमै पुग्न नसक्दा आगोले विकराल रूप लिएको अधिकारीहरूको भनाइ छ ।
प्रारम्भिक अनुसन्धानमा अधिकांश मानिस भुइँतलातर्फ र भान्साको क्षेत्रमा थुनिएर ज्यान गुमाएको पाइएको छ । केहीको शरीर जलेर र केहीको धुँवामा निसास्सिएर मृत्यु भएको पुष्टि भएको छ । आगलागीका क्रममा ग्यास सिलिन्डर विस्फोट हुँदा अवस्था झनै भयावह बनेको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।
अनुसन्धानले नाइट क्लबले आवश्यक सुरक्षा मापदण्ड नअपनाएको र अवैध रूपमा सञ्चालन भइरहेको तथ्यसमेत उजागर गरेको छ । यस प्रकरणमा गोवा प्रहरीले नाइट क्लबका महाप्रबन्धक तथा कर्मचारीसहित चार जनालाई पक्राउ गरेको छ । क्लबका मालिक सौरभ लुथरा र गौरव लुथरा विरुद्ध मुद्दा दर्ता गरिएको छ । साथै नियमविपरीत सञ्चालन अनुमति दिएको आरोपमा गोवा सरकारका तीन वरिष्ठ अधिकारी निलम्बनमा परेका छन् ।
घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै गोवाका मुख्यमन्त्री प्रमोद सावन्त ले मृतकका परिवारलाई प्रति व्यक्ति ५ लाख रुपैयाँ र घाइतेलाई ५० हजार रुपैयाँ राहत उपलब्ध गराउने घोषणा गरेका छन् । त्यसैगरी अनुमति बिना सञ्चालन भइरहेका क्लब तथा भीडभाड हुने स्थानहरूको व्यापक अडिट गरिने पनि जानकारी दिएका छन् ।
गोवा आगलागीमा मृत्यु भएका व्यक्तिहरूको सूची
चुर्णबहादुर पुन — नेपाल
विवेक कटवाल — नेपाल
सबिन — नेपाल
सुदीप — नेपाल
मोहित — झारखण्ड
प्रदीप महतो — झारखण्ड
बिनोद महतो — झारखण्ड
सतीश सिंह — उत्तराखण्ड
सुरेन्द्र सिंह — उत्तराखण्ड
जितेन्द्र सिंह — उत्तराखण्ड
सुमित नेगी — उत्तराखण्ड
मनिश सिंह — उत्तराखण्ड
दिगम्बर पटिर — असम
राहुल तन्ती — असम
मनोजित माल — असम
सुनील कुमार — उत्तर प्रदेश
रोहन सिंह — उत्तर प्रदेश
डोमिनिक — महाराष्ट्र
मनोज जोरा — महाराष्ट्र
इसहाक — कर्नाटक
सुभास क्षेत्री — दार्जिलिङ, पश्चिम बंगाल
सरोज जोशी — दिल्ली
विनोद कुमार — दिल्ली
अनिता जोशी — दिल्ली
कमला जोशी — दिल्ली
घटनाले गोवामा सुरक्षा मापदण्ड र मनोरञ्जनस्थलको नियमनप्रति गम्भीर प्रश्न उठाएको छ ।


Facebook Comment