एमाले ११औँ महाधिवेशनमा दुई पत्रकार नेताको केन्द्रीय सदस्य उम्मेदवारी घोषणा

काठमाडौँ। मंसिर २७ देखि २९ गतेसम्म सम्पन्न हुने नेकपा (एमाले) को ११औँ महाधिवेशनमा दुईजना चर्चित पत्रकार नेताले पार्टी केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। प्रेस चौतारी नेपालका निवर्तमान अध्यक्ष गणेश बस्नेत र पूर्वअध्यक्ष राजेन्द्र अर्यालले केन्द्रीय सदस्यमा आफ्नो दावेदारी सार्वजनिक गरेका हुन्।

निवर्तमान अध्यक्ष बस्नेतले आफूहरू दुवै केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिने तयारीमा रहेको जानकारी दिए। पूर्वअध्यक्ष अर्यालले समकालीन सहयोद्धाहरू पार्टी नेतृत्वको उच्च तहमा पुगिसकेको अवस्थामा आफ्नो उम्मेदवारी स्वाभाविक रहेको धारणा व्यक्त गरे।

बस्नेत र अर्याल दुवै अध्यक्ष केपी शर्मा ओली पक्षका मानिन्छन्। उनीहरूले खुला क्लष्टरतर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारी गरिरहेका छन्। अर्यालले प्रेस चौतारीको अध्यक्ष जिम्मेवारीसहित एमालेको गुल्मी–काठमाडौं सम्पर्क मञ्चको अध्यक्ष तथा पार्टी उपत्यका कमिटीको सचिवालय सदस्यका रूपमा समेत काम गरिसकेका छन्। २०४७ सालमा एमालेको संगठित सदस्यता लिएका अर्याल २०७९ को प्रतिनिधिसभा निर्वाचनमा गुल्मीबाट गोकर्ण विष्टसँगै उम्मेदवार सिफारिसमा परेका थिए।

गणेश बस्नेत २०५२ सालमा एमालेको संगठित सदस्य बनेका हुन्। उनले पार्टी कामको यात्रा दोलखा–काठमाडौं सम्पर्क मञ्च हुँदै अघि बढाएका थिए। बस्नेत र अर्याल दुवैले २०५० को दशकको सुरुवाततिर छलफल साप्ताहिकमार्फत पत्रकारिता यात्रा प्रारम्भ गरेका हुन्।

पार्टीको प्रचार–प्रसार अभियानअन्तर्गत विभिन्न महाधिवेशनका प्रचार समितिमा सक्रिय भूमिका निभाएका उनीहरूमध्ये अर्याल १०औँ महाधिवेशनमा पनि केन्द्रीय सदस्यको उम्मेदवार बनेका थिए। तर सर्वसम्मतिको नाममा उनले त्यतिबेला आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए।

प्रेस चौतारी नेपालमा दुई कार्यकाल गरी करिब नौ वर्ष अध्यक्षको जिम्मेवारी निर्वाह गरेका बस्नेत र संगठनात्मक तथा प्रचारात्मक मोर्चामा लामो अनुभव बटुलेका अर्यालको उम्मेदवारीलाई महाधिवेशनमा अर्थपूर्ण रूपमा हेरिएको छ।
बस्नेत प्रेस चौतारीको २ कार्यकाल गरी ९ वर्ष अध्यक्ष भएका थिए ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *