राजेन्द्र गौतमको ‘जनताको बहुदलीय जनवादका आधार’ पुस्तक सार्वजनिक

काठमाडौं । नेकपा एमाले स्थायी कमिटी सदस्य एवं प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले लेखेको जनताको बहुदलीय जनवादका आधार नामक पुस्तक आज विमोचन भएको छ ।

पार्टीका उपमहासचिव एवं पूर्व सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रेस चौतारी केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रममा सो पुस्तक विमोचन गरे । विमोचनमा चौतारीका अध्यक्ष गणेश पाण्डे पोलिटव्यूरो सदस्य खिमलाल भट्टराई, केन्द्रीय सदस्यहरु यज्ञबहादुर सुनुवार र निरज आचार्य पनि सहभागी थिए ।

लेखक गौतमले पार्टीको ११ औं महाधिवेशनको पूर्वसन्ध्यामा जननेता मदन भण्डारीको जीवनी र व्यक्तित्व झल्किने यो पुस्तक सार्वजनिक गरेका हुन् । उनले महाधिवेशनको संघारमा पार्टीको नीति, विचार, जनताको बहुदलीय जनवादका विषयमा वडा तहसम्मका कार्यकर्ताहरु छलफलमा सहभागी हुने भएकोले पनि अहिले पुस्तकको सान्दर्भिकता हुने बताए ।

पत्रकारिता पृष्ठभूमीका गौतमले यस अघि सातवटा पुस्तक लेखन तथा सम्पादन गरिसकेका छन् । २०५० सालमा उनले नेपाली महिला आन्दोलन र अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस (२०५०) देखि जनताको बहुदलीय जनवादका आधार (२०६३) सम्मका पुस्तक यस अघि नै प्रकाशन गरिसकेका छन् ।

पुस्तकमा लेखकले जनताको बहुदलीय जनवादका आधारहरु शीर्षकमा लामो र भावनात्मक भूमिका लेखेका छन् । पुस्तकमा पुस्तकलाई सात खण्डमा विभाजन गरिएको छ ।

जसमा जननेता मदन भण्डारीको जीवनी र व्यक्तित्व,नेकपाको प्रारम्भ देखि एघारौं महाधिवेशनसम्म,जनताको बहुदलीय जनवादः दार्शनिक तथा सैद्धान्तिक आधार,बहुदलीय जनवादका अन्त्र्य र आधारहरु,जनताको बहुदलीय जनवादको कार्यक्रम र सिद्धान्त,परिवर्तित सन्दर्भमा विकसित जनताको बहुदलीय जनवाद र आजको विकसित राजनीतिक परिघटना र हाम्रो कार्यभार लगायतका विषयहरु समेटिएका छन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *