सरकारका प्रवक्ताको झूटो आरोप

काठमाडौं । आन्तरिम सरकारका प्रवक्ता तथा सूचना–सञ्चार मन्त्री जगदीश खरेलले नेपाल पत्रकार महासंघ दक्षिण कोरियाद्वारा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा तथ्यबिहीन कुरा गरेको आरोप लागेको छ। कोरियाको औपचारिक भ्रमणका क्रममा नेपाली संघ–संस्था, व्यापारी, मजदुर र विद्यार्थीहरूसँग आयोजित उक्त कार्यक्रम निर्धारित समयभन्दा करिब दुई घन्टा ढिलो सुरु भएको थियो।

कार्यक्रम एक नेपाली रेस्टुरेन्टमा निकै अव्यवस्थित रूपमा सञ्चालन गरिएकाले धेरै सहभागी असन्तुष्ट बनेका थिए। केही सहभागीले ‘अन्य देशमा सामान्य सरकारी अधिकारी मात्र सहभागी हुने कार्यक्रममा तपाईं छ महिनाको अन्तरिम सरकारका मन्त्री भएर किन उपस्थित हुनुभयो?’ भन्ने प्रश्नसमेत उठाएका थिए।

यता, कोरियामा समानान्तर गतिविधि सञ्चालन गरिरहेको महेश श्रेष्ठ समूह–सम्बद्ध एनआरएनले सरकारलाई बुझाएको विज्ञप्तिका कारण पनि केही तनाबपूर्ण अवस्था सिर्जना भएको थियो। विज्ञप्तिमा नेपालस्थित राजदूतले ‘एमाले संगठनको मात्र काम गरे’ भन्ने आरोप उल्लेख भएपछि एक सहभागीले आफू एमाले प्रवास संगठनको उपसचिव भएको बताउँदै प्रतिवाद गरेका थिए। प्रतिवादको क्रममा मन्त्रीले उनलाई ‘पछि बोल्नुस्’ भन्दै रोक्का गरेका थिए।

नेपाली राजदूतावाससम्बन्धी प्रश्नमा मन्त्री खरेलले आफूले पत्र तीन हप्ता अगाडि पठाए पनि कुनै मन्त्रीस्तरीय भेटघाट वा सम्झौता तय गर्न नसकिएको भन्दै दूतावासप्रति गुनासो व्यक्त गरेका थिए। साथै, ‘कामको आधारमा नभई प्रधानमन्त्रीको आग्रहका कारण महिला राजदूतलाई फिर्ता नबोलाइएको’ अभिव्यक्ति पनि दिएका थिए।

तर कोरियास्थित नेपाली राजदूतावाससँग बुझ्दा मन्त्री आगमनसम्बन्धी जानकारीमूलक पत्र दूतावासले नोभेम्बर ५ मा मात्र प्राप्त गरेको स्पष्ट गरिएको छ। साथै, मन्त्रीको भ्रमणबारे परराष्ट्र मन्त्रालयबाट कुनै पनि द्विपक्षीय सम्झौता वा औपचारिक प्रक्रिया नपुगेकाले दूतावासले समन्वय गर्नु आवश्यक नठानेको बताए।

यसरी एक सामान्य भ्रमणकै क्रममा जेजेएनजी सरकारका प्रवक्ता खरेलले भ्रमपूर्ण सूचना प्रवाह गर्दै राजदूतावास र राजदूतप्रति अनावश्यक असन्तुष्टि जनाएको आरोप लगाइएको छ।

कोरिया भ्रमण सकेर मन्त्री खरेल शनिबार स्वदेश फर्किएका छन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *